Logo

काठमाण्डौमा मोनोरेल : कहाँ पुग्यो विद्यासुन्दरको प्रतिवद्धता ?



मंसिर १७, काठमाण्डौ । संघीय राजधानी काठमाण्डौ सहर अस्तव्यस्त छ । धुवाँ धुलोदेखि सडकमा सकस यहाँको दुरावस्था हो । महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न विद्यासुन्दर शाक्यले केबलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडीहरु सञ्चालनमा ल्याउने योजना अघि सारेका थिए । तर अहिले उनै शाक्यले मोनोरेल बिर्सिसकेका छन् ।

२०७४ साल वैशाखमा स्थानीय तहको चुनावका बेला विद्यासुन्दर शाक्यले काठमाण्डौ सहरलाई व्यवस्थित बनाउन केबलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडीहरु सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । उनले यस्तो प्रतिवद्धता मतदाताका अघि सुनाएका थिए । त्यसबेला शाक्यले चर्चामा ल्याएको मोनोरेल सबैको मुखमा झुण्डिएको थियो ।

तर अहिले सायद उनै शाक्यले मोनोरेल बिर्सिसके होलान् । आफूले काठमाण्डौ महानगरपालिकाको मेयरमा चुनाव जिते ३ वर्षभित्र महानगरको चक्रपथभित्र मोनो रेल सञ्चालन गर्ने दावी गरेका थिए । तर उनले चुनाव जितेको ३ वर्ष नाघेर पनि ७ महिना पुगिसकेको छ । मोनोरेलको त कुरै छोडौँ, सडकका साना खाल्डा पनि पुरिएका छैनन्, धुवाँ धुलोको अन्त्यसमेत भएको छैन भन्दै सर्वसाधारण रुष्ट छन् ।

काठमाडौँ महानगरपालिकाले मोनोरेलको सम्भाव्यता अध्ययन सम्बन्धमा २०७५ माघमा द्विपक्षीय सम्झौता भएको थियो । एक वर्ष भित्र डिपीआर तयार पारीसक्ने गरी समझदारी गरिएको काम अहिलेसम्म अघि बढेको छैन । अहिले काठमाण्डौ महानगरकै प्रतिनिधीहरु मोनोरेल संचालन दशौँ वर्षसम्म पनि सम्भव नहुने बताउन थालेका छन् । महानगरपालिकाको १० औ बर्षको बजेटले पनि नपुग्ने हुनाले यसलाई अगाडी बढाउन नसक्ने काठमाण्डौ महानगरपालिकाअन्तरगत सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख महेश काफ्लेको भनाई छ ।

मोनोरेलका लागि काठमाण्डौ र ललितपुर महानगरपालिकाले सहकार्य गर्ने भनिएको थियो । तर ललितपुर महानगरपालिकाले पनि तत्काल सम्भव नभएको जवाफ दिएको छ । काठमाण्डौ महानगरपालिकाले चासो नदिएकाले पनि योजना अघि बढ्न नसकेको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन बताउँछन् ।

मोनोरेल संचालनसम्बन्धमा के भइरहेको छ भनेर प्रतिक्रिया लिन खोज्दा काठमाण्डौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीलगायत कोही पनि जनप्रतिनिधी काठमाण्डौमै भेटिएनन् । जनतालाई झुक्याउने, सपना बाँढ्ने तर काम नगर्ने प्रवृत्ति संघीय सरकारदेखि स्थानीय सरकारसम्मै कायम छ ।



प्रतिक्रिया दिनुहोस्