Logo

गैँडा हेरेर कोरोनाको त्रास मेट्दै



सौराहा, मंसिर १८ । नेपालमा कोरोना भाइरस महामारीको त्रासबाट मुक्त हुनका लागि मानिस प्रकृति र वन्यजन्तुसँग नजिक हुन थालेका छन् । पर्यटकको रौनक घरगाउँमा त्यति नरहेका बेला विश्वकै दुर्लभ एकसिङ्गे गैँडा हेर्न सौराहामा आन्तरिक पर्यटक पुग्न थालेका छन् ।
काठमाडौँका मतिलाल श्रेष्ठले “घरभित्र कति डराएर बस्नु । दिक्दारी मेट्न परिवारसँग गैँडा हेर्न आएको” बताए। उनीजस्तै २० भन्दा बढी छुट्टाछुट्टै समूहले बुधबार सौराहा आएर प्रकृति र वन्यजन्तुसँगको सामीप्यता साटे ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका व्यवस्थापक विनोद तिमल्सिनाले एकै दिन २६ वटा समूहले हात्ती सफारी गरेको जानकारी दिए। उनले दशैँपछि दिन एकै दिनमा ३९ वटासम्म हात्ती सफारी पुगेको सुनाए । त्यस्तै जिप सफारी गर्ने आन्तरिक पर्यटकले सामुदायिक वनसँगै निकुञ्जभित्र पनि अवलोकन गर्न थालेका छन् ।

हात्ती चढेर बाघमारा र कुमरोज मध्यवर्र्ती सामुदायिक वनमा डुल्दै एकसिङ्गे गैँडाको अवलोकनले कोरोना त्रास र मानसिक तनाव कम गर्न प्रयास पर्यटकले गरिरहेका छन् । तीनवटा गैँडा देखेपछि फुरुङ्ग परेका पर्यटक अवलोकनपछि पनि जङ्गलमा खिचेका तस्बिरहरू नियाल्न व्यस्त भेटिए ।

सहकारीका अध्यक्ष ऋषि तिवारी हात्ती सफारी सौराहाको मात्र नभई मुलुककै आकर्षण र मुख्य विशेषताका रूपमा विश्वमा चिनिँदै आएको बताउन्छन् ।मनोविद् नरेन्द्रसिंह ठगुन्नाले यसरी प्रकृतिसँग नजिक रहेर गरिएको घुमफिरले मानिसमा कोरोनाले पारेको तनाव र मानसिक समस्यासमेत धेरै हदसम्म कम हुने बताए ।

अझ आक्कलझुक्कल सौराहाको सडकमै आइपुग्ने दुर्लभ गैँडा देख्दा पर्यटकका आँखामा दुर्लभ गैँडाजस्तै दुर्लभ खुसी झल्कन्थ्यो । गैँडा मात्रै होइनन् मृग, मयूर, बाँदर सुन्दर चराचुरुङ्गी, घडियाल गोही, जङ्गल सफारीका क्रममा पर्यटकले देख्न पाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्