Logo

नेकपा विवादः पार्टी कमिटीबाट ओलीबारे निर्णय लिने तयारी



काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने टुंगो लागेको छैन । बैठक ओलीले नभई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाकेका हुन् । १७ मंसिरको सचिवालय बैठकले तीन दिनका लागि समय दिएर स्थायी कमिटी बैठक समेत सारेर बैठक तय गरेको हो । जबकि भोलिको बैठक तय गरेको सचिवालय बैठकमा अध्यक्ष ओली अनुपस्थित थिए ।

तीन दिनसम्म पनि ओलीले पार्टी बैठकमा जाने छाँट नदेखाएपछि प्रचण्डसहितका पाँच सचिवालय सदस्यहरु अगाडि बढ्ने भएका छन् । वरिष्ठ नेता झलनाथ खनालका अनुसार भोलिको बैठक सर्दैन र अब पार्टीको सबै समस्याको समाधान विधिसम्मत तरिकाले कमिटीमार्फत् निर्णय हुन्छ ।

पार्टी कमिटीबाटै सबै छिनोफानो गर्ने प्रचण्डलगायतका नेताहरुको तयारी छ । भोलि सचिवालय डाकेर स्थायी कमिटी हुँदै केन्द्रीय कमिटी बैठक सम्म जाने र छिनोफानो गर्ने तयारी भएको बुझिएको छ । २१ मंसिरका लागि नेकपा सचिवालय बैठक डाकिएको छ ।

प्रधानमन्त्री ओली पार्टी कमिटी अन्तरिम भन्दै निर्णय मान्न तयार छैनन् । उनी पार्टीभित्र अल्पमतमा छन् । त्यसैले त्यसको सामना गर्न तयार छैनन् । बरु उनी संसदीय दलमा चुनौतीको सामना गर्न तयार भएर बसेका छन् । उनको विरोधी समूह भने पार्टी कमिटी हुँदै ओलीबारे निर्णय लिने गरी अगाडि बढेको छ ।

नेकपाभित्र ओलीलाई पदबाट हटाउने विरोधी समूहको तयारी बढिरहँदा सहमतिको प्रयास भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी देखि नेकपाभित्रका प्रभावशाली नेताहरुले सक्रियता बढाएका छन् । उनीहरुले भेटघाट तिव्र पारेका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot