Logo

गौतमबुद्ध विमानस्थलको ९३ प्रतिशत काम पूरा



भैरहवा, मंसिर २१। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशमा सञ्चालित २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले सम्पन्न हुने बताएका छन्।

विभिन्न कारणले तोकिएकै मितिमा सम्पन्न हुन नसके पनि विगतमा झण्डै हातखुट्टा छोडिसकेको यो विमानस्थल फेरि उठेर पहिले सम्पन्न हुने गौरवको आयोजना बन्न लागेको उनको भनाई छ ।

विमानस्थल आयोजनाका अनुसार अहिलेसम्म निर्माणको ९३ प्रतिशत काम सकिइसकेको छ । अब पाँच प्रतिशत उपकरण जडान र दुई प्रतिशत लाइट फिनिसिङका काम मात्र बाँकी छन् ।

चिनियाँ ३५ र थाई ३० जना प्राविधिक कोभिड–१९ का कारण आउन नसक्दा प्रभावित भएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीको भनाइ छ ।
विमानस्थल निर्माणको अन्तिम म्याद सकिन २५ दिन मात्र बाँकी रहँदा मन्त्री भट्टराईले ती दिनलाई भरपुर सदुपयोग गर्न आयोजनाका अधिकारीहरूलाई निर्देशन दिए । चिनियाँ प्राविधिकहरू छिट्टै आउने टुङ्गो लागेको जनाउँदै उनले थाई प्राविधिकहरू पनि चाँडै आउने आशा व्यक्त गरे ।

कोभिडका कारण आउन नमानेका थाई प्राविधिकहरूलाई ल्याउन अनेक प्रयास भइरहेको जानकारी गराउँदै उनले अब पनि नआए वा आउन नसके सरकारले अर्को विकल्प खोजेरै भए पनि काम अघि बढाउने जानकारी गराए। त्यसका लागि उपल्लोस्तरमा छलफल भइरहेको पनि उनले बताए।

अब पनि अल्झिन नहुने भन्दै मन्त्री भट्टराईले समय थपको औचित्य पुष्टि गर्न २५ दिनको गृहकार्य दिन्छु भने । विगतमा अगाडि बढ्न सक्दैन कि भन्ने अवस्थामा पुगेको विमानस्थलको निर्माण आफूले पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालेयता उत्साहजनक गतिमा बढेको भन्दै उनले कामको रफ्तार बढाउने आयोजनाका सबै प्रशंसाको पात्र भएको बताए ।

उनले थुप्रै देशका अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले गौतमबुद्ध विमानस्थलमा उडानका लागि चासो देखाएको समेत बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot