Logo

परराष्ट्र नीति : सबै मुलुकसँग कूटनीतिक सम्बन्ध राम्रो



मंसिर २१, काठमाण्डौ । सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । सरकारले पहिलोपटक एकीकृत परराष्ट्र नीतिको दस्तावेज सार्वजनिक गरेको हो । संस्थागत संरचनाको सुदृढीकरण कसरी गर्ने भन्ने रणनीति तय गरिनुका साथै दुईपक्षीय र बहुपक्षीय आर्थिक रणनीति तय गर्ने विषय समेटिएको छ ।

वर्तमान सरकारले परराष्ट्र नीतिमा ध्यान नदिदा छिमेकी र मित्रराष्ट्रहरुसँगको सम्बन्ध बिग्रिएको आरोप लागेका बेला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी परराष्ट्र नीति सार्वजनिक गरेका हुन् । संविधान जारी भएर नयाँ सरकार बनेको अवस्थामा मुलुक स्थिरतातर्फ गइरहेको कुरालाई समेट्नुपर्ने भएकाले परराष्ट्र नीति ल्याएको मन्त्री ज्ञवालीले बताए ।

परराष्ट्र नीतिका चुनौतीमा अन्तर्राष्ट्रिय सीमा सुरक्षा, अन्तर्राष्ट्रिय सहयोग राष्ट्रहितमा छ कि छैन भन्ने दृष्टिकोण र आर्थिक कूटनीति रहेको ज्ञवालीले बताए । शान्तिप्रक्रिया सफलतापूर्वक सम्पन्न गर्नु, सबै मुलुकसँग कूटनीतिक सम्बन्ध राम्रो हुनु सकारात्मक पक्ष रहेको भन्दै तिनै कुरा परराष्ट्र नीतिमा समेटिएको मन्त्री ज्ञवालीले जानकारी दिए । त्यसैगरी संस्थागत संरचनाको सुदृढीकरण कसरी गर्ने भन्ने रणनीति तय गरिनुका साथै दुईपक्षीय र बहुपक्षीय आर्थिक रणनीति तय गर्ने विषय पनि समेटिएको छ ।

नेपाल छिमेकीलगायत सबै मित्रराष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक हितका आधारमा स्वतन्त्र र सन्तुलिन सम्बन्ध कायम राखिने उल्लेख गरिएको छ । ऐतिहासिक सन्धि र सम्झौता तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमाको समस्या समाधान गर्ने उल्लेख छ । त्यसैगरी नीतिमा नेपालले लामो समयदेखि अपनाउँदै आएको असंलग्न नीतिलाई निरन्तरता दिने उल्लेख गरिएको छ ।

नयाँ नीतिले आर्थिक कूटनीतिलाई प्राथमिकता दिएको छ भने अहिलेका नयाँ विषय जलवायु परिवर्तन लगायतका विषयमा पनि जोड दिइएको छ । विभिन्न क्षेत्रमा छरिएका विभिन्न नीतिहरुलाई एकीकृत गर्दै र आन्तरिक र वाह्य परिवेशमा आएको परिवर्तनलाई दृष्टिगत गदै सो नीति सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्