Logo

आइजीपी शैलेश थापा कडा बन्दै, प्रहरीमा थप को– को छानबिनमा



काठमाडौं, २३ मंसिर । गत साता प्रहरी प्रधान कार्यालयले गरेको एक निर्णयले प्रहरीमा हंगामा मच्चिएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले एकैदिन चार सिनियर अधिकृतलाई निलम्बन गरेको घटनाको ठूलै चर्चा छ । प्रहरीमा शुद्धीकरण अभियानको सन्देश दिन यसरी निलम्बन गरिएको बताइन्छ ।

मातहतका प्रहरीसँगै मासिक पैसा असुलेको आरोपमा एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादब तथा इन्सपेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले निलम्बन गरेको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा अनियमितता गरेको खुलेपछि उनीहरुमाथि कारबाही गर्न लागिएको हो ।

प्रहरीमा यस्ता छानबिन विगतमा पनि हुन्थे । तर, सामान्य सचेत गराएर तथा नसियत दिएर उन्मुक्ति दिइन्थ्यो । तर, यसपटक प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ‘बोल्ड’ निर्णय लिए । दुई एसपी निलम्बनमा परेपछि यसले घुस्याहा प्रहरी अधिकारीहरुको सातो गएको छ ।

डिउटीमा लापरबाही गर्नेलाई पनि कारबाही गर्न लागिएको छ । डिउटीको समयमा होटलमा भेटिएका इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका तत्कालिन इन्चार्ज डिएसपी भरतबहादुर चौधरीलाई पनि गृह मन्त्रालयले निलम्बन गरी कारबाही प्रक्रिया सुरु गरेको छ । गत ९ मंसिरमा उनी सम्पर्कविहिन भएका थिए । पछि खोज्दा डिउटी छाडेर उनी युवतीसँग होटलमा भेटिएका थिए ।

अरु धेरै प्रहरीहरु छानबिनमा रहेको प्रहरी मुख्यालय स्रोत बताउँछ । केही प्रहरीहरुको ध्यान नै पैसा उठाउनमा केन्द्रीत देखिएको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दीपक खड्कामाथि समेत छानबिन भइरहेको स्रोत बताउँछ । केही दिनअघि उनले अनलाइन जुवा खेलेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी १५ लाख मागेको उजुरी परेको छ । अनलाइन जुवा खेलाउने मात्र होटल सञ्चालकलाई समेत उनले धम्काएर पैसा मागेको स्रोत बताउँछ ।

त्यस्तै, कपिलवस्तुका एसपी नवराज अधिकारीमाथि पनि निरीक्षणालयले हालै छानबिन थालेको छ । सेटिङमा तस्करी थालेको भन्ने प्रमाणहरु भेटिएपछि छानबिन सुरु भएको स्रोत बताउँछ । कपिलवस्तुसम्म सेटिङमै गोरु तस्करी भएकोमा शनिबार रुपन्देहीमा पक्राउ परेपछि एसपी अधिकारी थप संकटमा परेका छन् । दुई महिनाअघि सुन बरामद गरेको घटनामा चलखेल गरेको, सीमामा मटर तस्करीको लाइन खोलेको तथा क्रसर सञ्चालकहरुसँग साला नाता पर्ने एक युवकसँग पैसा लिएको जस्ता विषय आएपछि छानबिन थालिएको स्रोत बताउँछ ।

त्यस्तै इन्सपेक्टर धुव्र शर्माको जागिर पनि धरापमा परेको छ । उनीविरुद्ध बहुविवाह र भ्रुणहत्याको जाहेरी म्यादी प्रहरीमा परेको छ । म्याग्दीमा कार्यरत रहँदा एक युवतीसँग उनी प्रेम सम्बन्धमा थिए । महिलाले बलात्कार मुद्दा हाल्ने डरले बिहे पनि गरे । पछि उनीसँग टाढिने प्रयास गरेपछि अहिले लफडामा परेका छन् । ती युवतीले उनीविरुद्ध जाहेरी दिएपछि प्रहरी प्रधान कार्यालयले निलम्बन गर्न लागेको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot