मंसिर २५, काठमाण्डौ । आन्दोलनको मिति तय गरेको प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते सडकमा आउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । आज पदाधिकारीको बैठक बसेर आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय कांग्रेसले गरेको छ । बैठकमा पार्टीका आन्तरिक विषय र व्यक्ति हत्या सुरु गरेको विप्लव समुहका बारेमा पनि छलफल भएको थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको तयारी छ । मंसिर २९ गते सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल गर्न बिहिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक बसेको थियो ।
बैठकमा प्रदर्शनको तयारीबारे छलफल भएको थियो । बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन अपील गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कोरोनाको महामारीका बेला पनि सरकार र सत्तारुढ पार्टी सत्ताको द्वन्द्वमा फसेको कांग्रेसको आरोप छ । सरकारले अधिनायकवादी आकांक्षा प्रस्तुत गरेको र त्यही क्रममा पौडेलमाथि धरपडक भएको भन्दै कांग्रेसले २९ मंसिरको प्रदर्शनमा यसलाई पनि मुद्दा बनाएको छ ।
सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार कांग्रेसले सडक आन्दोलनलाई निरन्तरता दिने छ । बैठकमा जिल्लाहरूमा हुने प्रदर्शनमा केन्द्रीय सदस्यहरू परिचालन गर्न सकिने विषयमा छलफल भएको महतले बताए । गत मंसिर १७ गते तनहुँमा पुल उद्घाटनको विषयमा विवाद हुँदा बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रण गरेपछि सरकारविरुद्ध कांग्रेस आक्रमक भएको हो ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न अवरोध गरेको भन्दै कांग्रेसले २९ गते देशैभरि सरकारविरुद्ध प्रदर्शन गर्न लागेको हो । त्यस्तै बैठकमा पार्टीको क्रियाशील सदस्यता वितरणका विषयमा रहेका विवादहरु समाधान गर्ने विषयमा पनि छलफल भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
कांग्रेसले मोरङमा भएको शिक्षक हत्याको विषयलाई कांग्रेसले गम्भिरतापूर्वक लिएको भन्दै दोषीलाई कारबाहीको माग गरेको छ । पदाधिकारी बैठकले व्यक्ति हत्याको राजनीतिलाई त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समुहलाई आग्रह गर्ने निर्णय गरेको छ ।