Logo

सुक्खा बन्दरगाह निर्माण तीव्र



काठमाडौं, मंसिर २८ । आयात र निर्यात व्यापार सहज बनाउने उद्देश्यले काठमाडौँको चोभारमा सुक्खा बन्दरगाह निर्माणले गति लिएको छ । जग्गा अधिग्रहण लगायतका समस्या समाधानसँगै बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) को निर्माण कार्यले गति लिएको सो आयोजनाले जनाएको छ ।

सुक्खा बन्दरगाह निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको जानकारी गराउँदै आयोजना प्रमुख युवक डङ्गोलले सन् २०२१ अप्रिलसम्म निर्माण सम्पन्न भई काठमाडौँमा सुक्खा बन्दरगाह सञ्चालनमा आइसक्नेछ बताए ।

उनका अनुसार अहिले बन्दरगाहको निर्माण कार्य धमाधम भइरहेको छ । कुल एक अर्ब ६६ करोड रुपियाँको लागतमा निर्माण भइरहेको सो बन्दरगाहको अहिलेसम्म भौतिक प्रगति ६० प्रतिशत रहेको छ ।

विश्व बैङ्कको ऋण सहयोगमा यो बन्दरगाह निर्माण भइरहेको हो । सन् २०१० देखि नै यो सुक्खा बन्दरगाह बनाउने सरकारी प्रयास भए पनि जग्गा अधिग्रहण, कानुुनी झन्झट तथा स्थानीयवासीको अवरोधका कारण केही समय ढिलो भएको हो ।

अवरोध, कोरोना महामारीले भएको बन्दाबन्दीका कारण निर्माण सम्पन्न गर्ने म्याद छ÷छ महिना गरी दुईपटक थप गर्नुपरेको उनको भनाई छ।यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोड्ने योजना सरकारको छ ।

मुलुकको व्यापार प्र्रवद्र्धन गर्न अहिले ‘लजेस्टिक’ व्यवस्थापन समस्या रहेकाले समाधान गर्न चोभारको सुक्खा बन्दरगाहलाई सरकारले उच्च प्राथमिकतामा राखी निर्माण कार्य तीव्र पारेको उनले सुनाए । स्थानीयवासीको सहयोग र समर्थनमा नै बन्दरगाह निर्माण कार्य तीव्र बनाइएको उनको भनाई छ । अब स्थानीय नागरिकबाट कुनै किसिमको अवरोध वा गुनासो नरहेको उनले बताए ।

बन्दरगाह संरचनाको निर्माण कार्य सम्पन्न भई ‘फिनिसिङ’ को काम भइरहेको आयोजना प्रमुख डङ्गोलले जानकारी दिए । अहिले प्रशासनिक भवन निर्माण, घेराबारा गर्ने काम सम्पन्न भइसकेको छ ।

त्यसैगरी बन्दरगाहको मुख्य कामको रूपमा रहेको ‘बेस’ र भवन निर्माण, भण्डारण गरिने भवन, बन्दरगाहको भन्सार भवनको निर्माण सम्पन्न भइसकेको छ । उनका अनुसार अहिले ट्रक लगायतका सवारी साधनको पार्किङ निर्माण कार्य भइरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्