काठमाडौं, मंसिर ३० । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसममा जारी बदलिकै कारण हाल देशको तराईका अधिकांश भू-भागमा कुहिरो र हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश २ तथा बागमती प्रदेशमा आँशिक बदली रहेपनि बाँकि भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाले जनाए अनुसार रातीसम्म प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागहरुमा आँशिक बदली हुनसक्ने समेत जनाएको छ । देशका बाँकि भेगमा भने मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
पछिल्लो समय पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले उच्च हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातसंगै चिसोसमेत बढ्दै गएको छ । महाशाखाले बढ्दो चिसोबाट बच्न समेत सबैमा आग्रह गरेको छ ।