Logo

सरकार पाँच वर्ष चल्नुपर्नेमा युवाको जोड



विराटनगर, ३० मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने नेकपा सम्बद्ध युवा विद्यार्थीले बताएका छन् ।

नेकपासँग आबद्ध युवा सङ्घद्वारा आज त्यहाँ आयोजित भेलामा उनीहरुले आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने छन् भने । दुई ठूला शक्तिशाली पार्टी जनताका चाहना र कम्युनिष्ट आन्दोलनको निम्ति एक भएकाले यो पार्टी फुट्न नहुने कुरामा उनीहरुले जोड दिएका छन् ।

सङ्घका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले सरकार कुनै पनि हालतमा पाँच वर्ष टिक्ने भन्दै पार्टी फुट्न नदिन युवा एक भएर लाग्नुपर्ने सुझाव दिए । उनले पार्टी एकता कसैको स्वार्थ पूरा गर्न नभई नेपाली जनताको चाहना र आवश्यकता पूरा गर्नका लागि भएको बताए ।

नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले पार्टीमा गम्भीर सङ्कट देखा परेकाले यसको समाधानका लागि युवा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । पार्टीका अर्का केन्द्रीय सदस्य शिवकुमार मण्डलले पार्टीको सञ्चालन विचार र विधिबाट हुनुपर्ने बताउँदै सरकार जनताका हितमा केन्द्रित रहनुपर्ने उल्लेख गरे ।

सांसद अमनलाल मोदीले विधि र पद्धतिबाट सञ्चालन भएमात्र पार्टी दीर्घजीवी हुने धारणा राखे। प्रदेश सभा सदस्य कुशल लिम्बूले सरकारले जनतालाई न्याय दिन नसकेको र पार्टीलाई पनि व्यवस्थित गर्न नसकेको विचार व्यक्त गरे ।

युवा सङ्घका महासचिव नरेश शाहीले पार्टी एकता व्यक्तिको स्वार्थ पूरा गर्नेभन्दा पनि राष्ट्रिय हितको निम्ति भएकाले यसमा कसैले पनि दायाँबायाँ गर्न नहुनेमा जोड दिए ।

‘सम्पूर्ण देशभक्त प्रगतिशील तथा क्रान्तिकारी युवा विद्यार्थी एक जुट हौँ’ भन्ने मूल नाराका साथ आयोजित उक्त भेलामा युवा नेता वसिम आलम, नरेन्द्र बस्नेत, ईश्वरी आचार्य र गणेश उप्रेतीले सरकार जनतालाई सर्वाेपरि ठानेर काम गर्नुपर्ने धारणा राखे ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot