Logo

९ जनाको हत्या अभियोगमा जापानका ‘ट्विटर किलर’ ताकाहिरोलाई मृत्युदण्डको फैसला



एजेन्सी, २ पुस। जापानको अदालतले ‘ट्विटर किलर’ को नामले परिचित ताकाहिरो शिराइसीलाई मंगलबार मृत्युदण्डको सजाय सुनाएको छ ।

ट्विटरबाट सम्पर्क गरी ९ जनाको हत्या गरेको आरोपमा सन् २०१७ मा पक्राउ परेका ३० वर्षीय शिराइसोलाई मंगलबार टोक्यो जिल्ला अदालतले मृत्युदण्डको फैसला सुनाएको हो ।

फ्ल्याटमा ९ जनाको शवको टुक्रा भेटिएपछि शिराइसीलाई पक्राउ गरिएको थियो । हत्या हुनेमा ८ जना महिला र एक जना पुरुष रहेको जनाइएको छ ।

शिराइसीमाथि सन् २०१७ को अगस्टदेखि अक्टोबरसम्म १५ देखि २६ वर्षका ९ जना व्यक्तिको घाँटी रेटेर हत्या गरेको अभियोग लागेको छ भने ८ जना महिलामाथि उनले यौन उत्पीडन गरेको पनि आरोप लागेको छ । शिराइसीले अक्टोबरमा आफूमाथि लागेको ‘सबै आरोप सही’ भएको स्वीकार समेत गरेका थिए ।

यसअघि उनको तर्फबाट वकालत गरेका वकिलले अदालतसमक्ष सजाय कम गर्न अनुरोध गरेका थिए । तर, अदालतले भने उक्त दलिललाई खारेज गर्दै ९ जनाको हत्यामा शिराइसीलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्