Logo

‘जहाँ हलो त्यहाँ भलो’



गण्डकी, ६ पुस । नवीनतम् प्रविधिसँगै कृषि क्षेत्रमा आधुनिक औजारको प्रयोग भइरहेका अवस्थामा कास्कीका ग्रामीण भेगमा अझैपनि खेतबारी जोत्न गोरुको प्रयोग हुँदै आएको छ । गाउँका टारीमा अग्ला कान्ला तथा साँघुरा गरा भएका कारण गोरुको विकल्प नभएको हो ।

मादी गाउँपालिका–१२ अलैँचीबारीका ६८ वर्षीय सोमलाल न्यौपाने टारीका खेतबारीका लागि अझैपनि जोत्न गोरुको विकल्प नभएको बताउँछन् । छिमेकी वडा नं ११ तोगिमा गोरु खरिद गर्नर्कै लागि पुगेका उनले कृषिमा भित्रिएका जोत्ने उपकरण पहाडी भेग सुहाउँदो अझै पनि नपाइएको जानकारी दिए ।

गोरु पाल्दा मल पनि हुने र धान, कोदो, मकैलगायतका खाद्यान्नका साथै आयआर्जनको महत्वपूर्ण माध्यम बनेको तरकारीखेतीका लागि आफूले अहिले पनि गोरुको खोजी गर्दै आएको उनको भनाइ छ । दाइँमासमेत गोरुको प्रयोग हुने गरेको छ ।

मह गाउँको रुपमा परिचित तम्तरीको तोगीमा भेटिएका उनले स्थानीय ऋषिराम ढकालसँग हालै रु २० हजार तिरेर गोरु किनेको जानकारी दिए । गोरु किन्दा अहिले पनि ग्रामीण भेगमा बगाल छोड्ने भन्दै थप केही रकम दिने मौलिक प्रचलन कायमै छ ।

स्थानीय विनोद ढकालले मादिको प्राकृतिक मनोरम क्षेत्र सिक्लेस र ताङ्तिङबाट साना गाईका बाच्छा खरिद गरेर ल्याउने र आवश्यकता अनुसार बाच्छा दाएर गोरु बनाउने गराएका छन् । बहरलाई दाएर गोरु बनाउनु चुनौतीपूर्ण रहेको उनको अनुभव छ ।

कृषि उत्पादनमा ग्रामीण क्षेत्रमा नवीनतम प्रविधि हाते ट्याक्टरको उपयोग हुँदै आए पनि बोकेर तलमाथि गर्न गाह्रो हुने, चलाउने सीपको अभाव र बिग्रेको अवस्थामा मर्मतको समेत ज्ञानको अभावमा अप्ठेरो पर्ने हुँदा कृषिको लागि गोरुको खोजी अहिले पनि कम छैन ।
कास्कीको उर्वरभूमि मादी गाउँपालिकामा गोरुको खरिदबिक्री ह्वात्तै बढेको छ सरकारले कोभिड—१९ सङ्क्रमण रोक्नका लागि गरेको बन्दाबन्दीसँगै सो क्षेत्रमा कृषिमा आकर्षण बढेसँगै गोरुको कारोवारमा वृद्धि आएको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot