Logo

नेकपाका अलग अलग भेला



काठमाडौं, पुस ७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी विभाजनको चौबाटोमा पुगेको नेकपामा समूहगत रूपमा बेग्लाबेग्लै भेला र बैठक भइरहेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकअर्कामाथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारीमा छन् ।

साढे दुई वर्षअघि २०७५ साल जेठ ३ गते पार्टी एकताको ऐतिहासिक घोषणा गरेका दुई पार्टी एकताको अढाई वर्षपछि विभाजनको सङ्घारमा पुगेका हुन् । यद्यपि, कारबाहीको घोषणा पहिला कसले गर्ने भन्ने मात्र बाँकी छ । दुवै पक्षले मङ्गलबार केन्द्रीय कमिटीको बैठक डाकेका छन् ।

अध्यक्ष दाहाललाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै विघटित प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता गर्न पुगेका दाहाल–नेपाल समूहका नेताहरू यतिबेला प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारीमा छन् ।

प्रचण्ड–माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष ओलीमाथि अनुशासनको कारबाही अगाडि बढाएको पत्र निर्वाचन आयोगमा सोमबार पेस गरेका छन् । सो घटनापछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक अहिले बिहान ९ बजे बोलाईएको छ ।

प्रतिनिधि सभा विघटनपछि बदलिँदो राजनीतिक परिस्थितिको मूल्याङ्कन रणनीति तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले बेग्लाबेग्लै भेला राखेका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भेला डाकेका थिए। त्यस्तै, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बानेश्वरस्थित संसद् भवनमा भेला राखेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्