Logo

संसद विघटनपछि कांग्रेसको विवाद चर्कियो : देउवा ओलीको पक्षमा, पौडेलको चाहना आन्दोलन



पुष ८, काठमाण्डौ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई अप्ठ्यारोमा पारेको छ । मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा एकजुट बनेका कांग्रेस नेताहरु संसद विघटनपछि पुनः दुई कित्तामा पुगेका छन् ।

संसद विघटनविरुद्ध कांग्रेस आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच कित्ताकाट भएको हो । बुधबारको कार्यसमिति बैठकमा केहीबेर दुई नेताबीच विवाद नै भएको थियो ।

केन्द्रीय समिति बैठक लम्बिने देखिएपछि पौडेलले बुधबार नै आन्दोलनका कार्यक्रम घोषणा गर्नु पर्ने बताएका थिए । तर, सभापति देउवाले बारम्बार नेकपा फुटिनसकेको भन्दै विरोधका कार्यक्रम घोषणा गर्न नहुने बताए ।

त्यसैगरी देउवाले निर्वाचन आयोगले नेकपाका दुई पक्षको चुनाव चिन्हको निर्णय नगर्दासम्म पार्टीले विरोधको कार्यक्रममा जान नहुने मात्रै भनेनन्, संसद विघटनको मुद्धा सर्वोच्चमा पुगिसकेकाले फैसला नहुँदासम्म कांग्रेसले निर्णय गर्न नहुने तर्क गरे ।

तर देउवाको तर्कसँग पौडेल सन्तुष्ट हुन सकेनन् । उनले संसद विघटन गर्नु असवैधानिक भएकाले नेकपा फुट्नु र नफुट्नुमा कांग्रेसको कदम निर्भर नहुने बताए । आक्रोषित हुँदै पौडेलले अब कांग्रेस सुतेर बस्न नहुने बताएका थिए । पौडेल जंगिएपछि देउवानिकट सहमहामन्त्री डा. प्रकाशरण महत र केन्द्रीय सदस्य शंकर भण्डारीले आपत्ति जनाएका थिए ।

उनीहरुले बसिरहेका ठाउँबाट उठ्दै सभापतिलाई बोल्न दिनुपर्ने भन्दै पौडेलसँग असन्तुष्टी व्यक्त गरेका थिए । उता पौडेल पक्षधर केन्द्रीय सदस्य गुरु घिमिरेले पौडेलले सही कुरा गरेको भन्दै उनको बचाउ गरेका थिए ।
देउवानिकट केन्द्रीय सदस्य एनपी साउदले मंगलबारको बैठकमा पार्टी आन्दोलनमा नगइ चुनावको तयारीमा जुट्नुपर्ने बताएका थिए ।

तर बैठकको सुरुमा बोलेका केन्द्रिय सदस्य डा. रामशरण महतले संसद विघटन असंवैधानिक भएको भन्दै अहिले निर्वाचन आर्थिक दृष्टिकोणमा पनि उपयुक्त नहुने धारणा राखेका थिए ।

त्यसैगरी अर्का केन्द्रिय सदस्य गगन थापाले पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले अब आन्दोलन नै गर्नुपर्नेमा जोड दिएका छन् । थापाले ओलीले भने झँै वैशाखमा चुनाव नै नहुने ठोकुवा गर्दै संसद विघटन असवैधानिक भएकाले अदालतलाई पर्खिन नहुने बताए ।

अर्का केन्द्रिय सदस्य बलबहादुर केसी र आनन्दप्रसाद ढुंगानाले पनि संसद विघटन असंवैधानिक र संविधान विपरीत भएको बताए ।

बैठकमा वरिष्ठ नेता पौडेलले सडकमा जानुपर्छ भन्दा सभापति देउवाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन पुस १६ मा विरोध कार्यक्रम गर्ने भनेका थिए । तर त्यो दिन विरोध कार्यक्रम उचित नहुने भन्दै अन्य नेताहरुले विरोध गरेपछि अर्को दिन प्रदर्शन गर्न देउवा सहमत भएका छन् । तर दिन तोकिएको छैन ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारदेखि बैठक सुरु भएको हो । दुई दिनमा जम्मा ८ जनाले मात्रै धारणा राखेका छन् । बुधबारसम्म बोल्नेको सूचीमा २७ जना बाँकी छन् ।

ओलीसँग देउवाको साँठगाँठ !
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको साँठगाँठमा मध्यावधि चुनाव घोषणा भएको पौडेल पक्षको आशंका छ । ओली र देउवाबीच सहमति नै नभए पनि संसद विघटनपछि देउवाले त्यसलाई सकारात्मक रुपमा लिएर ओलीको असंवैधानिक कदमलाई साथ दिएको पौडेल पक्षको शंका छ ।

ओलीले आइतबार प्रतिनिधिसभा बिघटनको सिफारिश गर्नुपूर्व देउवासँग केही दिन अघि भेटेका थिए । त्यस बखत पनि सम्भावित कदमबारे कुराकानी भएको बुझिएको छ ।

ओलीको कदमप्रति अहिले देउवा खासै कडा रुपमा प्रस्तुत भएका छैनन् । बरु उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत केही संवैधानिक निकायमा आफूले चाहेका व्यक्तिहरुलाई नियुक्तिको सिफारिश गराउन सफल भएका छन् ।

विगतमा पनि ओली र देउवाबीच कतिपय निर्णयहरुमा साँठगाँठ भएको थियो । उनले ओलीका कतिपय कदममा मौन समर्थन गरेका थिए ।

त्यसैले पनि देउवाले प्रधानमन्त्री ओलीसँग सम्झौता गरेको र पार्टीलाई आन्दोलनमा लैजानबाट रोक्नका लागि सभापति देउवाले पार्टीको बैठकसमेत लम्बाउन चाहेको पौडेल पक्षको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्