पुष ८, काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधि सभा र आफूलाई मर्माहत बनाएको बताएका छन् ।
आज विज्ञप्ति जारी गर्दै सापकोटाले अहिलेको अवस्थामा प्रतिनिधिसभा विघटन हुनै नसक्ने जिकिर पनि गरेका छन् ।
सापकोटाको विज्ञप्तिमा लेखिएको छ–“संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ । यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो । विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ ।”
उनले संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता रहेको उल्लेख गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति :