Logo

चीनले ओली र प्रचण्डलाई मिलाउन सक्ला ?



काठमाडौं, १२ पौष । नेपाल कम्युनिस्ट पार्टीको विभाजनबाट छिमेकी चीनले नेपाल मामलामा ठुलो राजनीतिक धक्का भोगेको छ । उसले चिनियाँ पत्रपत्रिकामार्फत् दिएको जानकारीहरुबाट पनि यो बुझ्न सकिन्छ । चीनको विदेशनीतिसम्बन्धी सन्देश आउने गरेको ग्लोबल टाइम्सले त नेपालमा नेकपा विभाजन गराएर राजनीतिक अस्थिरता बढाउन खोजिएको भन्दै चीन गम्भीर भएको लेखेको थियो ।

ग्लोबल टाइम्सले चीन नेपालमा राजनीतिक स्थिरता र समृद्धि चाहने गरेको दाबी गर्दै अन्य शक्तिले अस्थिरता बढाउन खोजेको आरोप लगाएको छ । यता चीनले नेकपालाई पुनः एक बनाउने गृहकार्य शुरु गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यहु नेपाल आएका छन् । उनी चार सदस्यीय टोलीसहित आइतबार विहानको चाइना साउर्थन एयरलाइन्सको उडानबाट काठमाडौं उत्रिएर । पिपिए लगाएर विमानस्थलबाट निस्किएको टोली सुरक्षाकर्मी नलिई भेटघाटमा सक्रिय भएको छ ।

यहु नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली देखि नेकपाको प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समेतलाई भेटेर चिनियाँ चाहना र धारणा सुनाउने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश लिएर टोली आएको बुझिएको छ । चीनले नेकपालाई पुनः एक हुन दुवै समूहमाथि दबाब बढाएको छ । यो चीनको निर्णायक प्रयासका रुपमा हेरिएको छ । चीनको यो प्रसासका बाबजुद नेकपा पुनः एक हुने सम्भावना भने कम देखिएको छ ।

यसअघि चिनियाँ राजदूत होउ यान्छी गत हप्ताभर नेकपा एकताका लागि प्रयास गर्दै दौडधुप गरेकी थिइन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मङ्गलबार, प्रचण्डलाई बिहिबार र शुक्रबार माधवकुमार नेपाल, कृष्णबहादुर महरा र वर्षमान पुनलाई भेटेकी थिइन् । सबै भेटमा छलफल नेकपा विभाजनपछिको राजनीतिक भविष्यबारे केन्द्रित रहेको थियो । उनले एकताको सूत्रबारे छलफल गरेकी थिइन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्