Logo

नयाँ मन्त्रीका गफ : कसले के भने ?



पुष १२, काठमाण्डौ । पछिल्लो समय नेपालमा कुन नेता कतिबेला मन्त्री बन्छन् ठेगान नै छैन । नेकपाको विवादले विभाजनको रुप लिए पछि प्रधानमन्त्रीले हिजो मात्रै मन्त्रीमण्डल विस्तार गरे । मन्त्री बन्नेहरु कामका लागि भन्दा पनि ओली समुहलाई बलियो बनाउन केन्द्रित छन् भन्दा फरक नपर्ला । तर पनि आज कार्यभार सम्हाल्दै नयाँ मन्त्रीहरुले आफ्नो प्रतिवद्धता व्यक्त गरेका छन् ।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले देशको विकासका लागि एमसीसीको कार्यान्वयन अनिवार्य भएको बताएका छन् । न्त्रालयमा पद बहाली गर्दै मन्त्री रायमाझीले एमसीसीमा विषयमा विवाद सिर्जना गर्न भन्दा कार्यान्वयनको पक्षमा सहयोग गर्न सबैलाई आग्रह पनि गरे । मन्त्री रायमाझीले समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले बैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री चौधरीले वैदेशिक रोजगारीमा ठगीको समस्यालाई सम्बोधन गर्ने आश्वासन पनि दिएका छन् । त्यति मात्रै होइन उनले विदेश जाने युवालाई नेपालमै रोजगारी दिने गरी मन्त्रालयले काम गर्ने पनि भनेका छन् ।

नवनियुक्त सहरी विकास मन्त्री प्रभु साहले भने मन्त्रालयको कामभन्दा पनि निर्वाचन केन्द्रित कामलाई प्राथमिकतामा राख्ने बताएका छन् । सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको भन्दै त्यसैमा आफ्नो ध्यान केन्द्रीत गर्ने उनको भनाई छ । मन्त्री शाहको दोस्रो प्राथमिकतामा मात्रै मन्त्रालय मातहतको काम परेको छ ।

नवनियुक्त खानेपानी तथा सरसफाई मन्त्री मणि थापाले पनि निर्वाचनलाई नै प्राथमिकतामा राखेका छन् । मन्त्री थापाले सरकारको एकमात्र ध्यान प्रतिनिधि सभाको चुनाव भएको बताएका हुन् । यद्यपी उनले देशभरी ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

नव नियुक्त शिक्षा तथा विज्ञान प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले देशको विकास र स्वाभिमान बढाउने शिक्षा प्रणालीतर्फ आफूहरु केन्द्रित हुनुपर्ने बताए । मन्त्री श्रेष्ठले जापान, जर्मनी, बेलायत, चीन, दक्षिण कोरिया आदि मुलुकको उदाहरण दिँदै कुनै पनि मुलुकको विकास र प्रगतिमा शिक्षाको गुणस्तर पहिलो शर्त हुने भएकाले मेधावी विद्यार्थी र जनशक्तिलाई स्वदेशमै राख्ने सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले कतै नपाएपछि शिक्षक हुने प्रवृत्ति अन्त्यका लागि गम्भीर हुनैपर्ने बताएका थिए । आफू नेकपाको नेता भए पनि मन्त्री हुँदा देश र जनताको हितलाई प्राथमिकता दिने प्रतिज्ञा गर्दै उनले सबै राष्ट्रसेवक कर्मचारीलाई राजनीतिको झोला मन्त्रालय परिसर बाहिरै राख्न निर्देशन दिए ।

नवनियुक्त वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्ने र विकृति भए सबै मिलेर हटाउनुपर्ने बताए । मन्त्री आलेले आफू प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा रहँदा वन क्षेत्रका केही विकृति र गुनासा देखेको आँैल्याउँदै त्यसलाई हटाई उत्कृष्ट मन्त्रालयका रुपमा चिनाउन हरदम लागिपर्ने दावी गरेका छन् ।

नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामाले युवा तथा खेलकुद क्षेत्रको बिकासका लागि भूमिका निर्वाह गर्ने बताए । आफ्नो कार्यकालमा परिणाममुखी योजनाका साथ काम गर्ने उनको दावी छ ।

भूमी व्यवस्था तथा सहकारी मन्त्रालयबाट कृषि तथा पशुपंक्षी मन्त्रालयमा सरुवा भएकी पद्माकुमारी अर्यालले किसानका समस्या समाधन गर्ने बताएकी छिन् । मन्त्री अर्यालले किसानले वर्षौदेखि भोग्दै आएको रसायनिक मललगायतका विभिन्न समस्या समाधान गर्ने बताएकी हुन् ।

उनले आगामी आर्थिक वर्षदेखि रसायनिक मलको समस्या समाधान गर्न आफुहरु लागिपर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सरुवा भएका भानुभक्त ढकालले पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा हुँदा भ्रष्टाचार गरेको आरोप खेपेका ढकालले स्वाभिमान र इमानलाई बन्दक राखेर अतिरिक्त सुविधा र पैसा कमाउनु आफ्नो राजनीतिक उद्देश्य नरहेकोसमेत बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको ६ दिनपछि शुक्रबार ८ मन्त्री र १ राज्यमन्त्री थपेका थिए । ६ जना पुराना मन्त्रीको जिम्मेवारी हेरफेर गर्दै १ मन्त्री र १ राज्यमन्त्री हटाएका थिए ।



प्रतिक्रिया दिनुहोस्