Logo

नेपाल मामलामा भारत र चीनबीच संघर्ष, कस्को जीत होला ?



काठमाडौं, १२ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका एकपछि अर्को कठोर कदमले देशको राजनीतिलाई जटिल मोडमा पुर्याउँदै गर्दा भारत र चीनका उच्च अधिकारीसम्मको दौडधुप चर्को बाइदिएको छ । पछिल्लो समय नेपालमा अहिलेसम्म नभएको भारत र चीनका उच्च अधिकारीहरुको दौडधुप चलेको छ ।

दुई महिना यता भारतबाट चारजना उच्च अधिकारीहरु नेपाल भ्रमणमा आए । तीमध्ये भारतको गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल, सेनापति मनोज मुकुन्द नरवाणे, विदेश सचिव हर्षवद्र्धन श्रृंगला र सत्तारुढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले छन् । उनीहरुको भ्रमणपछि भारतको नेपालको सत्तारुढ दल नेकपा र केपी शर्मा ओलीसँग व्यक्तिगत सम्बन्धमा ठुलो सुधार आएको थियो । भारतले नेपालमा निकै चासो बढाएको सन्देशका रुपमा पनि ती भ्रमणहरु रहेका थिए ।

भारतका विदेश सचिव फर्केको केही दिनमै चिनियाँ रक्षामन्त्री वी फेङही नेपालको एक दिने भ्रमणमा आएका थिए । यी भ्रमणहरु भइरहँदा नेपालमा सत्तारुढ दलभित्र विवाद चर्किदै गएको थियो ।

एकातर्फ भारतीय मिडियाले केपी शर्मा ओलीमाथि चीनसँग नजिक रहेको आरोप लगाइरहेको थियो भने चिनियाँ पत्रिकाले नेपाली काँग्रेसलाई भारतपरस्तको आरोप नै लगायो । ग्लोबल टाइम्सले त काँग्रेसलाई भारतको इशारामा चल्ने गम्भीर आरोप लगाएको थियो । नेपाल मामलामा भारत र चीनबीच मिडियामार्फत् संघर्ष नै चलेको सन्देशहरु गइरहे ।

पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी विभाजनमा पनि भारत र चीनको मिडियाबाट फरक विचारहरु प्रवाह भइरहेका छन् । ग्लोबल टाइम्सले नेकपा एकतामा जोड दिदै नेपालको राजनीतिक स्थिरताको पक्षमा चीन लागेको उल्लेख गरेको छ । भारतीय पत्रिका टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स लगायतले नेपालमा चिनियाँ उच्च टोलीको भ्रमणलाई आन्तरिक मामलामा हस्तक्षेपको उद्देश्य भनी व्याख्या गरेको छ । भारतीय मिडियामा चिनियाँ टोलीको नेपाल भ्रमणले महत्वपूर्ण स्थान पाइरहेको छ ।

अहिले नेकपाको विवादलाई लिएर भारत र चीनबीच नै प्रतिष्पर्धा चलेको देखिदैछ । यद्यपि, भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको घटनाक्रमलाई नोटमा राखेको र आन्तरिक मामला भनेका छन् । यो भारतको आधिकारिक धारणा हो ।

चिनियाँ राजदूत होउ यान्छीको नेताहरुको घर घरमा भइरहेको दौडधुप र त्यसपछि चिनियाँ विदेश विभागका उपमन्त्री गुओ येझाऊको आजबाट शुरु भएको भ्रमण नेकपा विवाद मिलाउन केन्द्रित रहेको छर्लङ्ग छ । गोप्य भेटको उद्देश्यले येझाऊले सुरक्षाकर्मी समेत लिन मानेनन् ।

अहिलेको नेकपाको विभाजनभित्र भारत र चीनको प्रतिष्पर्धा खुल्दै जान थालेको छ । दुवै देशले विभाजित पक्षमध्ये कुनै एकलाई साथ दिएको या नदिएको खुलेको त छैन । तर, नेकपा एक बनाउन चीनले केपी शर्मा ओलीको सत्ताबाट बर्हिगमन समेतलाई विकल्प देखेको बुझिएको छ । यसकारण पनि ओली चिढिए । उनले भारतीय पक्षसँग हात बढाए । ओलीले आफूलाई भारतको साथ रहेको सन्देश चौथाइवालेलाई बालुवाटारमा बोलाएर भेटेर दिए । जबकि विदेश विभाग प्रमुख चौथाइवाले नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालको निम्तोमा आएका थिएनन् । उनलाई महासचिव विष्णु पौडेलले निम्तो दिएका थिए । नेपाललाई नभेटी दिल्ली फर्किए ।

अहिले नेकपाभित्रको विभाजनमा भारत एउटा पक्षमा र चीन अर्को पक्षमा देखिएको छ । यसको संकेत झलनाथ खनालले नेकपाको प्रचण्ड समूहको पत्रकार सम्मेलनमा गोयलको भ्रमणको उद्देश्य के हो ? भनी प्रश्न उठाएबाट बुझ्न सकिन्छ । जबकि उनी स्वयंले चिनियाँ राजदूत होउ यान्छीलाई निवासमा भेटेका थिए । यसरी नेकपा विभाजनमा भारत र चीनको शक्तिसंघर्षसँग पनि जोडिएको छ । यसमा भारत या चीन कस्को जीत हुन्छ ? यो परिणाम कुर्न केही समय अझै लाग्नसक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot