Logo

नेकपा मिलाउने चीनको प्रयास विफल



काठमाडौं, १४ पौष । नेपाल कम्युनिस्ट पार्टीलाई मिलाउने छिमेकी मुलुक चीनको प्रयास विफल भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली नेपाल भ्रमणमा आएर नेकपाको एकता पुनः स्थापित गर्न तीन दिनयता दौडधूप चलाएपनि सहमति बन्न नसकेको हो ।

सहमति बनाउन नसकेपछि चाटर्ड विमानमा आइतबार आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यचाऊसहितको छ सदस्यीय टोली निराश भएको छ । टोलीले अझैपनि सहमतिका लागि नेकपाको दुवै पक्षमाथि दबाब बढाइरहेपनि टसमस भएका छैनन् ।

नेकपाको ओली समूहमा रहेका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले पार्टी फुटिसकेको भन्दै चीनले मिलाउन नसक्ने बताएका छन् । उनले वीरगञ्जमा बोल्दै चीनको प्रयासले पार्टी विभाजन नरोकिने बताएका हुन् । उनले भने,‘चीनले जति नै प्रयास गरेपनि पार्टी एक हुनसक्दैन, नेकपा फुटिसक्यो ।’ उनले चीनले नेकपाको हितका लागि नभई स्वार्थका लागि भूमिका देखाइरहेको आरोप लगाए ।

 

चिनियाँ टोली नेकपा नेताहरुको निवासमै र होटलमा भेटेर फुटलाई पुनः जोड्ने प्रयास गरिरहँदा मण्डलको भनाई बाहिर आएको छ । ओलीका नजिकका नेता मण्डलको अभिव्यक्तिले पनि ओलीमाथि दबाब बढाइएको बुझिएको छ । तर, ओलीले प्रचण्ड समूहबाट एकताको सम्भावनाका लागि आएको प्रस्तावलाई अस्वीकार गरिसकेको विश्वस्त स्रोतले बताएको छ । ओलीलाई सच्चिन र संसद पुनःस्थापनाको वातावरण बनाएमा एकता हुनसक्ने प्रचण्ड समूहले चिनियाँ पक्षमार्फत् प्रस्ताव पठाएको बुझिएको छ । तर, ओलीले पछि फर्कन नसकिने बरु मिलेर मध्यावधि चुनावमा जानुपर्ने अडान राखेका थिए ।

नेकपा विवाद मिलाउन चीन असफल भएसँगै दुवै समूहका नेताहरुको आरोप प्रत्यारोप बढेको छ । आज भृकुटीमण्डपको विरोध सभामा नेकपाको प्रचण्ड समूहका शिर्ष नेताहरु ओलीविरुद्ध निकै आक्रामक रुपमा प्रस्तुत भए । प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले ओलीलाई तानाशाह भने । उनीहरुले ओलीलाई इतिहासमै कलंकित भने । प्रचण्डले त ओलीलाई नेपाली राजनीतिमा पत्तासाफ हुने ठोकुवा गरे । यसले पनि नेकपा एक नहुने अवस्थामा पुगेको सन्देश प्रवाह भएको छ । चिनियाँ टोली राजनीतिक तहमा भेटघाटमा सक्रिय भएपछि कुनै सुखद परिणाम नआउने लक्षण प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको आजको अभिव्यक्तिले देखाएको छ । प्रचण्डले कम्युनिस्ट पार्टी फुटेको समेत बताए ।

चिनियाँ उच्च राजनीतिक टोलीले आइतबार काठमाडौं उत्रिएपछि राजदूतावासमा छलफल गरेपछि भेटघाट चलाएको थियो । टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।

सोमबार पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसँग छुट्टाछुट्टै भेटवार्ता गरेको थियो । पूर्व सभामुख कृष्णबहादुर महरासँग पनि टोलीले भेट गरेको थियो । नेकपाभित्रको दुवै समूहको प्रभावशाली नेताहरुसँग भेटेको चिनियाँ टोलीले निकै गृहकार्य गरेपनि नेकपा एक हुन सकेन । अब चाटर्ड विमानमा आएको टोली भोलि चाटर्ड विमानमै बेइजिङ फर्किने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्