Logo

वैदेशिक रोजगारः अब अनलाइनबाट श्रमस्वीकृतिको नवीकरण



काठमाडौं, पुस १६ । वैदेशिक रोजगारमा गएका नेपाली कामदारले अब अनलाइनबाट नै श्रमस्वीकृतिको नवीकरण (पुनः श्रमस्वीकृति) गराउन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले यही पुस १७ अर्थात् सन् २०२१ जनवरी १ तारीखबाट यस्तो सेवा सुचारु गर्न लागेको हो ।

पुस १७ देखि श्रमस्वीकृति नवीकरण गर्नुपर्ने कामदारहरूले अनलाइनबाट गर्न सक्ने विभागको भनाइ छ । तर, नयाँ श्रम स्वीकृतिका लागि भने यो व्यवस्था लागू गरिएको छैन । हाललाई पुनः श्रमस्वीकृतिको हकमा मात्र अनलाइन सेवा सुचारु गरिएको विभागको भनाइ छ ।

वैदेशिक रोजगार श्रमस्वीकृतिको अवधि २ वर्षको हुन्छ । त्यसपछि सम्बद्ध श्रम गन्तव्य मुलुकमा नै काम गर्ने कामदारले त्यसको नवीकरण गर्नुपर्ने हुन्छ । हालसम्म त्यस्तो श्रमस्वीकृति नवीकरण गर्न सम्बद्ध कामदारलाई नेपाल नै आउनुपर्ने बाध्यता छ । सम्बद्ध मुलुकको नेपाली दूतावासबाट उक्त सुविधा दिने भनिए पनि त्यो अझै कार्यान्वयन भएको छैन ।

अब नेपाली कामदारले अलाइनबाट नै श्रमस्वीकृति नवीकरण गर्न सक्ने विभागका प्रवक्ता टीकामणि नेउपानेले बताए । बिदा लिएर नेपालमै आएका तथा विदेशमै बसेका कामदारले यो सुविधा लिन सक्ने उनको भनाइ छ ।

अनलाइन सेवा लिन म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम पहिले नै भुक्तानी गर्नुपर्नेछ । हाल उक्त रकम भुक्तानी गर्न विभागले ईसेवा, खल्तीजस्ता भुक्तानी प्रदायक संस्थासँग सहकार्य गरिसकेको छ । कामदारले उक्त भुक्तानी सेवाप्रदायकबाट तोकिएको शुल्क भुक्तानी गरेर विभागको वेबसाइटमा रहेको ‘अनलाइन श्रमस्वीकृति’मा गएर श्रमस्वीकृतिको नवीकरणका लागि आवेदन दिन सक्नेछन् । अनलाइनबाट रकम भुक्तानी गर्दा शुल्क नलाग्ने विभागको कथन छ । विभागको उक्त पोर्टलबाट कामदारले श्रमस्वीकृति नवीकरणका लागि आवेदन दिनुपर्ने हुन्छ ।

आवेदन दिँदा कामदारले युजर आईडी बनाउनुपर्ने हुन्छ । आवेदन प्राप्त भएपछि विभागले श्रमस्वीकृति नवीकरण भएको अर्थात् पुनः श्रमस्वीकृतिको प्रमाण इमेलमार्फत सम्बद्ध कामदारलाई पठाउनेछ । त्यसपछि कामदारले त्यसलाई आवश्यकताअनुसार प्रिन्ट गरेर काम चलाउन पनि सक्नेछन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot