Logo

अघोषित लोडसेडिङ बन्द नगरे कडा संघर्षमा उत्रिने नेविसंघ महामन्त्री तिमल्सिनाको चेतावनी



काठमाडौं, १६ पुस । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका महामन्त्री बलदेव तिमल्सिनाले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भू–भागमा अघोािषत लोडसेडिङ गरिएको भन्दै तत्काल अघोषित लोडसेडिङ बन्द गर्न चेतावनी दिएका छन् । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भू–भागमा अघोषित लोडसेडिङ गर्दा त्यसबाट विद्यार्थीहरुले ठूलो समस्या भोग्नुपरेको सुनाउँदै अघोषित लोडसेडिङ तत्काल बन्द गर्न सम्बन्धित पक्षको ध्यानाकार्षण गराएका छन् ।

महामन्त्री तिमल्सिनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘काठमाडौं उपत्यका लगाएत देशका विभिन्न भुभागमा नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गर्न थालेको र त्यसबाट विद्यार्थीहरुले भोग्नुपरेको समस्याप्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ । उपत्यकामा अहिलेको विद्युतको अधितकतम माग (पिक लोड) गत वर्षभन्दा कम हुँदा पनि विद्युत व्यवस्थापन गरी गुणस्तरीय आपूर्तिमा नेपाल बिद्युत प्राधिकरण व्यवस्थापन र ऊर्जा मन्त्रालयले ध्यान नदिंदा अधिकांश स्थानमा दैनिक ५ पटकसम्म आपूर्ति अवरुद्ध भइ पटक–पटक विद्युत कटौती हुने गरेको र हाल विद्युतीय माध्यम (अनलाईन/भर्चुअल) मार्फत कक्षा तथा परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीलाई प्रत्यक्ष असर पारेको छ ।’

 

उनले विद्युत प्राधिकरणकै तथ्यांकानुसार पनि गत वर्षको तुलनामा यो वर्ष करिब ५० मेगावाट थोरै विद्युत माग हुँदा काठमाडौंका अधिकांश क्षेत्रमा बत्ती काटिनु , विद्युत माग घटि हुँदापनि भारतबाट हुने आयात बढेको र काठमाडौंमा अधिकतम माग गत वर्ष जति नपुग्दा पनि निरन्तर बिद्युत कटौति हुनुले नेपाल विद्युत प्राधिकरण र सरकार अत्यन्त गैरजिम्मेवार रहेको पुष्टी भएको उल्लेख गरेका छन् ।

उनले कोभिड–१९ को संक्रमणको जोखिमले शैक्षिक संस्था बन्द रहेकोले अनलाइन कक्षाबाटै विद्यार्थीको पठन–पाठन अघि बढाउन परिरहेको अहिलेको अवस्थामा प्राधिकरणले विद्युत आपूर्ति कटौती गर्दा अनलाइन कक्षा तथा साना/मझौला व्यवसायीको व्यवसाय बन्द हुने अवस्थामा पुग्नु अत्यन्त दुःखद् बिषय भएको पनि बताएका छन् ।

नेपाल बिद्युत प्राधिकरणबाट लोडसेडिङ लाई सधैंको निम्ति अन्त्य गराउने नेतृत्वलाई गलहत्याइनु, बिगतमा अत्यधिक (दैनिक १८ घन्टा) सम्म लोडसेडिङ गराउने नेतृत्वको फेरी उर्जा तथा जलश्रोत मन्त्रालयमा प्रवेश हुनु र उर्जा क्षेत्रमा कालाबजारी तथा माफियाहरुको सल्बलाहट बढ्नुले योजनाबद्ध ढंगबाट बिगतकै अँध्यारो इतिहाँसको पुनरावृत्तिमा वर्तमान सरकार उद्यत रहेको कुरा प्रष्ट भएको उनको दाबी छ ।

उनले भनेका छन्,‘प्राधिकरणभित्र ब्याप्त चुहावट, चोरी नियन्त्रण र अनियमितता रोक्न र विद्युत आपूर्तिमा सहजता अपनाउन आबश्यक पहलकदमीका निम्ति गम्भिर ध्यानाकर्षण गराउँदछु । विद्यार्थीले भोगिरहेको यो जटिल समस्याको तत्काल समाधानका लागि आबश्यक पहल गर्दै विद्युत आपूर्ति सहज गर्न र अघोषित रुपले दैनिक हुने गरेको लोडसेडिङको पुर्णरुपले अन्त गर्न जोडदार माग गर्दै अन्यथा कडा संघर्षमा उत्रने चेतावनी दिन चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्