Logo

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीको कदममै बहस



काठमाडौं, १७ पौष । राष्ट्रियसभाको अधिवेशन आजबाट शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बिघटन सदर गरेपछि राष्ट्रियसभा बैठकमा चासो बढेको हो ।

आजको बैठक प्रतिनिधिसभा बिघटनकै विषयमा केन्द्रित भएर सांसदहरुले बोलेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसदहरुले प्रतिनिधिसभा बिघटनको बचाऊ गरे । उनीहरुले यसलाई वाध्यात्मक भन्दै ताजा जनादेशमा जानुको विकल्प नभएको तर्क गरे । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूह, नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुले असंवैधानिक कदम भन्दै देशलाई जटिल संकटमा धकेलेको बताए ।

काँग्रेस सांसद जीतेन्द्र देवले प्रधानमन्त्री ओलीले देशलाई राजनीतिक दुर्घटनातर्फ लगेको आरोप लगाए । उनले सबै मिलेर देशलाई संकटबाट निकाल्नुपर्ने बताए ।
नेकपाको प्रचण्ड समूहका सांसद जर्नादन शर्माले प्रतिनिधिसभा बिघटन देश र जनताको हितमा नभएको बताए । उनले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग नेकपा एक बनाउने रसायन हुनसक्ने बताए । गौतमको प्रयत्न सफल हुने आशा व्यक्त गरे ।

राष्ट्रिय जनता पार्टीकी सांसद प्रमिला सिंहले प्रतिनिधिसभा बिघटनलाई संविधानमाथको कू भनिन् । उनले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने जिकिर गरिन् ।



प्रतिक्रिया दिनुहोस्