Logo

सवारी कर्जा सहज भएसँगै बढ्यो गाडीको जाँचपास



वीरगञ्ज, पुस २८ । बैंकहरूले सवारी कर्जाको ब्याजदर घटाएपछि भन्सारबाट नयाँ सवारीसाधन छुटाउने क्रम बढेको छ । गाडी आयात हुने मुख्य नाका वीरगञ्जबाट नयाँ सवारीसाधनको जाँचपास बढ्न थालेको हो ।

विगतमा आयातकर्ताले नाकामा आइपुगेका गाडी लामो समयसम्म भन्सार परिसरमै थन्क्याउने गरेकोमा केही समययता जाँचपासमा सुधार आएको भन्सारले बताएको छ । वीरगञ्ज एकीकृत जाँच चौकी ९आईसीपी० सञ्चालक नेपाल इन्टरमोडल यातायात विकास समिति ९एनआईटीडीबी० का अनुसार आईसीपीमा सोमवारसम्म जाँचपास हुन बाँकी गाडीको संख्या १८७ छ ।

केही महीना अघिसम्म यो संख्या २५० देखि ३०० को हाराहारीमा हुने गरेकोमा अहिले भन्सारबाट गाडी छुटाउनेक्रम बढेको एनआईटीडीबीका प्रमुख कमल ज्ञवालीले बताए । विगतमा भन्सारले गाडी छुटाउन सूचना गर्दासमेत आयातकर्ताले अटेर गर्दै आएका थिए ।

अहिले आयातकर्ताले धमाधम गाडी जाँचपास गराएको भन्सारले बताएको छ । आईसीपी भन्सारका सूचना अधिकृत सुमित गुप्ताले पछिल्लो समय भन्सारबाट नयाँ सवारीसाधन छुटाउने क्रम बढेको बताए ।‘केही समययता भन्सारबाट सवारीसाधन जाँचपास बढेको छ । नाकामा ल्याइएका सवारीसाधन आयातकर्ताले चाँडै छुटाउन थालेका छन्,’ सूचना अधिकृत गुप्ताले भने ।

भन्सार ऐनमा भन्सारमा हातामा प्रवेश गराइएका गाडी ६० दिनभित्र जाँचपास भइसक्नुपर्ने प्रावधान छ । तोकिएको समयभित्र जाँचपास नभएको मालसामान भन्सारले लीलाम गर्न सक्ने व्यवस्था छ ।

वीरगञ्ज सुक्खा बन्दरगाहमा १०८ ओटा गाडी जाँचपास हुन बाँकी रहेको पनि ज्ञवालीले जानकारी दिए । सरकारले महँगो मुख्यका गाडी आयातलाई निरुत्साहित गरे पनि लगानीयोग्य पूँजीको चाप बढेसँगै बैंकहरूले सवारी कर्जाको ब्याजदर घटाएका छन् ।

कोरोना महामारीका कारण उद्योग र व्यापार क्षेत्रमा ऋणको माग घटेपछि बैंकले सवारी कर्जालाई लगानीको सहज क्षेत्रका रूपमा उपयोग गरिरहेको वाणिज्य बैंकका एक प्रबन्धकले बताए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्