Logo

आगलागीले लिँदै छ ज्यान



काठमाडौँ, माघ २ । यही पुस १८ गते घसेटा बाल्नेक्रममा आगो सल्केर चितवनका एक पुरुषको ज्यान गयो । त्यस्तै त्यही दिन आगो ताप्ने क्रममा पोखरामा ७७ वर्षकी एक महिलाको मृत्यु भयो । सोही दिन खरमा आगो लाग्दा बैतडीमा दुई वर्षीया बालिकाको मृत्यु हुन पुग्यो । त्यस दिन देशका विभिन्न १२ स्थानमा आगलागीका घटना हुँदा अन्य दुई जना घाइते भएका थिए ।

पुस २१ गते आगो (घुर) ताप्ने क्रममा ७० वर्षकी महिलाको सारीमा आगोले टिपेपछि मृत्यु । सोही दिन उदयपुर, सर्लाही, रामेछाप, बाजुरा, सुनसरी, धनुषा, मोरङसहित दस स्थानमा आगलागी भएको थियो ।

पुस १९ गते देशका १२ स्थानमा आगलागी भएको थियो । त्यस्तै २२ गते जनकपुरकी एक महिलाको पनि आगलागीका कारण ज्यान गयो । सोही दिन काठमाडौँको तारकेश्वरमा सिलिन्डर पड्किँदा दुई जना घाइते बने । पुस १६ गते देशभर १८ वटा आगलागीका घटना हुँदा एकले ज्यान गुमाउनु परेको थियो । मङ्गलबार आगोले पोलेर दुई जनाको मृत्यु भयो । बुधबार पनि आगलागीमा परी दुई जना घाइते भएका छन् ।

मनसुन सकिएर हिउँद लागेसँगै विभिन्न कारणले आगलागी हुने र मानिसको ज्यान जाने क्रम यसरी बढेको हो । पुस २३ देखि २४ गते बिहानसम्मको २४ घण्टामा मात्र आठवटा आगलागीका घटना भएको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

शनिबार बिहानसम्म पनि सिरहा र धनुषामा गरी दुई जना महिलाको आगो लागेकै कारण मृत्यु भएको छ । अन्य सात जना आगोले पोलेर घाइते भएका छन् भने ११ वटा आगलागीका घटना भएका छन् । घर, गोठ तथा आसपासका काममा महिला बढी खटिने भएकाले मृत्यु हुनेमा महिलाको सङ्ख्या बढ्दै गएको जनाइएको छ ।
वर्षात् सकिएसँगै आगलागीका घटना बढेको प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिनुभयो ।

“बढीजसो आगो ताप्ने क्रममा मानिसको ज्यान गइरहेको छ,” उहाँले भन्नुभयो । जाडो महिनामा न्यानो हुन तराईमा ‘घुर’ र अन्यत्र काठपातसहितको आगो ताप्ने चलन छ । काठमाडौँसहित घना सहरमा भने कोठाभित्रै हिटर, कुलर, मकल आदि बालेर न्यानो हुने चलन छ ।

यसरी आगो ताप्दा होश नपु¥याएकै कारण धेरैको ज्यान गएको गौतमको भनाइ छ । उहाँका अनुसार कोठाभित्र आगो ताप्नेहरू निसास्सिएर तथा आगो लागेर मृत्यु भएका छन् ।

बाहिर ताप्नेहरूले भने होश नपु¥याएकै कारण शरीरमा आगो लागेर ज्यान जाने गरेको पाइएको छ । सुक्खा समयमा वनपाखा र चउरमा लगाइने आगो पनि मानिसका लागि यतिखेर खतरा भएको गौतमको तर्क छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot