कास्की, जेठ ३ । कास्कीको पोखरा महानगरको पर्यटकीय क्षेत्र लेक साइडमा सञ्चालनमा रहेका मसाज सेन्टर (स्पा) हरूबाट बुधवार छ बालिकाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपालबाट खटिएको संयुक्त अनुगमन टोलीले स्पामा काममा लगाइएका १८ वर्षमुनिका बालिकहरुलाई उद्धार गरेको हो ।
पोखरा महानगरपालिका वडा नं। ६ लेक साइडको सेन्टर प्वाइन्ट स्पा र न्यु भिजन स्पाबाट दुई/दुई बालिका र हिमालय स्पा, पारा माउन्ट स्पाबाट एक/एक बालिकालाई टोलीले उद्धार गरेको हो । अनुगमन गरिएको गुड विल स्पामा भने बालिकालाई काममा लगाइएको पाइएन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले उद्धार गरिएका बालिकाहरूलाई सेफ हाउसमा राखिएको जानकारी दिए।