Logo

नेपाल भित्रिने सबै नाकाबाट अनअराईभल भिसा दिने तयारी



काठमाडौं, माघ ६ । नेपाल पर्यटन बोर्ड तथा पर्यटन सम्बद्ध संघ–संस्थाले भिडिजर प्रोटोकल सम्बन्धमा छलफल थालेका छन्। विद्यमान मापदण्डले नेपालको पर्यटन क्षेत्रको छवि अझ खस्किएको र अन्तर्राष्ट्रिय सञ्चार माध्यम तथा टुर ट्राभल एजेन्सीले समेत नेपाल आगामी पर्यटकीय सिजनका लागि बन्द भएको समाचार सम्प्रेषण गरिएको भन्दै केही सर्तहरू पुनरावलोकन गर्न जरुरी भएको बोर्डले जनाएको छ।

बोर्डले हवाई मार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट भिजा अन अराइभल सेवा सुचारु गर्नेबारे छलफल थालेको हो। त्यस्तै, हवाई मार्गबाट आउने विदेशीको हकमा हवाई यात्रा प्रारम्भ हुने पहिलो स्थान बिन्दुबाट ९६ घन्टाको अवधिमा परीक्षण गरिएको कोभिड १९ नेगेटिभ रिपोर्ट अनिवार्य हुनुपर्नेमा जोड दिइएको छ। पाँच वर्षमुनिका बालबालिकाको हकमा भने यो नियम लागू नहुने जनाइएको छ।

भारतीयबाहेक अन्य मुलुकका यात्रुले नेपाल आई पुनः परीक्षण गर्नुपर्ने र रिपोर्ट नेगेटिभ आएमा क्वारेन्टिन बस्नु नपर्ने, यात्रुको स्वाब संकलन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने र २४ घन्टाभित्र रिपोर्ट दिने व्यवस्थासमेत गरिने भएको छ। भारतीय नागरिकको हकमा नेपाल–भारत एयर बबलको अवधारणा यथावत रहने बोर्डले जनाएको छ।

भारतसँग जोडिएको सबै नाका खुला गरी स्थलमार्गबाट निजी तथा पर्यटकीय सवारी नेपाल भित्रन दिन ९६ घन्टा अवधिको कोभिड १९ नेगेटिभ रिपोर्टलाई मान्यता दिनुपर्ने विषयमा छलफल भएको छ। उक्त छलफलमा सम्पूर्ण पर्यटकीय गन्तव्य तोकिएको मापदण्डको आधारमा खुलाउने निर्णय भएको छ। त्यस्तै, नेपाल भित्रिने यात्रुको अनिवार्य ट्राभल इन्सुरेन्स हुनुपर्नेमा जोड दिइएको छ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot