Logo

नागरिक आन्दोलनमा दमन



काठमाडौं, माघ १३ । निधारमा कालो माटोको टीका र ‘कु’ लेखिएको कालो पट्टी लगाएका प्रदर्शनकारी भाटभटेनी हुँदै बालुवाटार क्षेत्रतिर प्रवेश गर्दै थिए। मुखमा ‘असंवैधानिक’ लेखिएको मास्क र हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरूलाई रोक्ने क्रममा प्रहरीले लाठी पानीको फोहरा प्रहार गर्‍यो। प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नागरिक समाजले सोमबार निकालेको ‘बालुवाटार मार्च’ कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो।

बृहत् नागरिक आन्दोलनको आह्वानमा कमलपोखरी बचाऊँ अभियानका अभियन्ताबाट माटोको टीका लगाएर सुरू गरिएको मार्चमा प्रहरीले लाठी र पानीको फोहरा प्रहार गर्दा केही प्रदर्शनकारी घाइते भए। मार्चमा कवि, लेखक, कलाकार र नागरिक अगुवाको सहभागी थिए।

बृहत् नागरिक आन्दोलनका अगुवा तथा पत्रकार नारायण वाग्लेले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताए। ‘शान्तिपूर्ण धर्ना दिन गइरहेका थियौं,’ उनले भने, ‘हामीमाथि बर्बर दमन भयो। यसले राम्रो संकेत गरेन। अब तेस्रो जनआन्दोलन सुरू भयो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता नागरिक अगुवाहरू चरणबद्ध आन्दोलनमा छन्। ‘हामीले काठमाडौं सभ्यताको कालो माटो निधारमा पोतिसकेका छौं,’ वाग्लेले भने, ‘नागरिक चेतनासहितको नागरिक आन्दोलन आज उठेको छ। यो हरेक प्रतिगमनविरूद्ध आन्दोलित हुनेछ। पहिलो जनआन्दोलनमा लोकतन्त्र जिन्दावाद भन्ने हामी नै होइन ? दोस्रो जनआन्दोलनमा पनि फेरि त्यही नारा किन लगाउनुपर्‍यो ? दोस्रो जनआन्दोलनमा त्यही नारा लगाएर पुगेन, त्यही नारा फेरि मधेसका जनताले लगाएर किन जनआन्दोलन गर्नुपर्‍यो ? किन दलितहरू उफ्रिनु पर्‍यो, जनजातिहरू फेरि किन आन्दोलित हुनुपर्‍यो ?’

पत्रकार वाग्लेले बृहत् नागरिक आन्दोलन आवश्यक रहेको तर्क गरे। ‘म अरू आन्दोलन जोड्न चाहन्न, अहिले बालुवाटारमा हामी किन छौं भनेर मैले एउटा कुरा भन्छु,’ उनले भने, ‘बालुवाटारमा आज जो साथी हुनुहुन्छ, जनताको प्रतिनिधित्व गर्दै उहाँले के गर्नुभयो भने लोकतन्त्र भनेको नियन्त्रण र सन्तुलन हो तर त्यसलाई भत्काउन महत्वपूर्ण एजेन्सीहरू आफू (प्रधानमन्त्री) मातहत लानुभयो। प्रधानमन्त्री कहिल्यै पनि सिंहदरबार जाँदैनन्। प्रधानमन्त्री जहिले पनि निजी निवासमा बस्छन्। निजी निवासमा नेपालको स्वतन्त्र न्यायालयको प्रमुखलाई दर्शन भेट दिनलाई बाध्य बनाउँछन्। निजी निवासमा प्रतिपक्षी दलको नेतालाई भागशान्ति भन्नलाई बोलाउँछन्। त्यसकारण यो प्रतिगमन सम्भव भएको छ।’नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्