माघ १८, काठमाण्डौ । नेपालमा सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएता पनि नेपालमा अझैसम्म पनि कुष्ठरोगी भेटिने गरेका छन् । विशेषगरी तराईका विभिन्न जिल्लामा अझै पनि कुष्ठरोगीहरु भेटिने गरेको सरकारी तथ्याङकले देखाएको छ । कुष्ठरोग निवारणको घोषणा भए पनि नयाँ बिरामी देखिन थालेकाले चुनौती थपिएको छ ।
आइतबार ६८ औं विश्व कुष्ठरोग दिवस, विभिन्न कार्यक्रम गरेर मनाइएको छ । कुष्ठरोगका प्रभावितहरूप्रति जागरुकता देखाउने उदेश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो । कुष्ठरोगका विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले आज विभिन्न कार्यक्रम भएता पनि रोग निवारण भने हुन सकेको छैन् ।
प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ । तर, कुष्ठरोग निवारणको घोषणा भए पनि नयाँ बिरामी देखिन थालेकाले चुनौती थपिएको छ । कुष्ट रोग निवारणको घोषण गरेपछि जनचेतना मुलक कार्यक्रम हुन नसक्दा कुष्ठ रोगीका संख्या बढ्दै गएको कुष्ठरोग नियन्त्रण तथा अपङ्गता व्यवस्थापन शाखाका प्रमुख डा.माधवप्रसाद लम्साल बताउँछन् ।
कुष्ठरोग निवारणको घोषण गर्दा देशभर ०.७ प्रतिशतमा यस्ता विरामी थए भने अहिले त्यसको संख्या बढेर ०.९९ प्रतिशत पुगेको सरकारको तथ्याङमा उल्लेख छ । यो संख्या १ प्रतिशत पुग्नै लागेकोले फेरि पनि नेपाललाइ कुष्ठरोग प्रकोपको देश भनेर घोषण गर्नुपर्ने स्थितिमा पुगेको छाला रोग विषेशज्ञ प्रा.डा.दिनेश विनोद पोख्रेलको भनाई छ ।
अझै सम्म पनि विशेषगरी तराईका विभिन्न जिल्लामा कुष्ठरोगीहरु भेटिने गरेका छन् । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हातखुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महशुस हुँदै जानु कहिले काहि मृटु तथा मृगौलामा सम्म पनि असर पु¥याउने पोख्रेल बताउँछन् ।
नेपालमा हरेका वर्ष ३ हजारभन्दा धेरै नयाँ बिरामी थपिने गरेका सरकारी तथ्याङ्क छ । कुष्ठरोगबारे नकारात्मक सोच र सही जानकारीको अभावले रोग लुकाउने र समयमै उपचारको खोजी नगर्ने र सरकारी निकायले जनचेतना मुलक कार्यक्रम ल्यान नसक्ने प्रवृत्तिले जोखिम बढ्दै गएको छ ।