Logo

गाउँपालिकामा पहिलोपटक पुग्यो केन्द्रीय विद्युत्



गलकोट, १९ माघ: बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा पहिलोपटक केन्द्रीय विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक गाउँपालिकामा केन्द्रीय विद्युत्को पहुँच पु¥याएको जनाएको छ । पहिलोपटक बडीगाड गाउँपालिकाको दुर्गम गाउँ वडा नं ४ जलजलाको झुलेडाँडा गाउँमा विद्युत् सेवा पु¥याएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ ।

लामो समयदेखि लघु जलविद्युत्को भरमा गुजारा गर्दै आएका वडावासी पहिलोपटक केन्द्रीय विद्युत् बलेपछि हर्षित भएको स्थानीय तिलक छन्त्यालले बताए । “बिहान बेलुका सामान्य बत्ती मात्रै बाल्न पुग्थ्यो”, छन्त्यालले भने, “बर्खाको समय घरेलु विद्युत्मा समस्या आउँदा अन्धकारमै थियौँ, केन्द्रीय विद्युत् आउँदा निकै सहज भएको छ ।”

झण्डै आठ वर्षदेखि लघु जलविद्युत्मार्फत सामान्य सेवा उपभोग गरेका जलजलावासीको घरमा केन्द्रीय विद्युतीकरण पु¥याइएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । “केन्द्रीय विद्युत्को पहुँच गाउँगाउँ पु¥याउने सरकारको नीतिअनुसार बडीगाडमा जलजलाबाट विद्युतीकरण शुरु गरेका छौँ”, गोशलीले भने, “आगामी असार मसान्तसम्म गाउँपालिकाको ८ नम्बरबाहेक वडा १ देखि १० नम्बर वडासम्म विद्युतीकरणको लक्ष्य रहेको छ ।”

जलजलाको झुलेडाँडाका ३५ घरमा शनिबारदेखि विद्युत् पगेको छ । ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत झण्डै रु ५५ लाखको लागतमा जलजलामा विद्युतीकरण गरिएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । प्राधिकरणले गलकोट नगरपालिका–५ हरिचौरमा रहेको सबस्टेसनबाट ११ केभी प्रसारण लाइनमार्फत गाउँपालिकाको खौलारा बजारदेखि चार किलोमिटरको दूरीमा रहेको झुलेडाँडामा ५० केभी क्षमताको ट्रान्सफर्मर राखेर सेवा प्रवाह गरिएको छ ।

केन्द्रीय विद्युत्को बडीगाड गाउँपालिकाका उपाध्यक्ष अम्मरबहादुर श्रीस र प्रमुख गोशलीले ‘स्विच अन’ गरेर शनिबार उद्घाटन गरेका थिए । वितरण केन्द्रले धेरै विद्युत् माग भएको ढोरपाटन नगरपालिकामा गत असोज देखि केन्द्रीय विद्युत् पु¥याइसकेको छ । ढोरपाटनमा अहिले ६०० भन्दाबढी घरमा केन्द्रीय विद्युत्को मिटर वितरण भइसकेको छ । अहिले बागलुङको पश्चिम क्षेत्रमा धमाधम विद्युतीकरण भइरहेको छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot