काठमाडौं, माघ २४ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। उक्त प्रभावकै कारण देशभर आँशिक देखी सामान्य बदली हुँदै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जारी बललीले देशभरका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ ।
हिमपातपछिको चिसोले जनजीवन प्रभावित भएको छ । बाहिर निस्कन सकिएको छैन । महाशाखाका अनुसार आज सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।
त्यस्तै, रातीसम्म प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश आंशिक देखि सामान्य बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।