काठमाडौं, २५ माघ । यसपटक नेपाली सेनाले वख्तरवन्द निकालेको छ । त्यो पनि विगतमा पूर्व राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएकै दिन १९ माघ पारेर । सेनाले चक्रपथबाट शुरु गरेको वख्तरवन्द प्रदर्शन सैन्य अभ्यास भनिएको छ । तर, दिनसाइत र परिस्थिति केलाउँदा यसबाट केही सन्देश दिन खोजिएको छ ।
वख्तरवन्द प्रदर्शनलाई लिएर नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले मुख खोलेका छन् । उनले यसलाई तर्साउने उद्देश्यका रुपमा लिदै नतर्सने बताइसकेका छन् ।
अहिले सेना सक्रिय बन्न थालेको छ । उसले पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । पृतनाहरुबाट पछिल्लो अवस्थाको रिपोर्टिङहरु जंगी अड्डामा आउन थालेको छ । यस्तै अवस्थाबीच नेपाली सेनाले वख्तरबन्द १९ माघको राति चक्रपथमा उतार्यो । यसबारे सेनाले अग्रिम जानकारी समेत गराएरको थियो । सेनाले २१ माघको राति पनि वख्तरवन्द निकाल्यो ।
प्रमुख शहरहरुमा सेनाका वख्तरवन्द निकालिएको थियो । ८ वटै पृतना अन्तर्गतका मेकानाइज्ड युनिटहरुबाट वख्तरवन्द गाडीहरुको अभ्यास भए । देशका प्रमुख राजमार्गहरुमा सेनाको वख्तरवन्द निकाल्नुलाई अहिलेको राजनीतिक संकटसँग पनि जोडेर हेरिएको छ ।
सरकारविरोधी आन्दोलन देखि विप्लवलगायत समूहको गतिविधिप्रति पनि सेनाको चासो रहेको छ । सेनाले यसवर्ष पृथ्वी जयन्ती अघिल्लो वर्षहरुको तुलनामा निकै भव्य रुपमा मनाएको छ । सेनाले पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा भव्य रुपमा मनायो । सामाजिक सञ्जालका आधिकारिक पेजहरुमा यो विषयलाई प्राथमिकताका साथ राख्यो ।
२७ पौषमा ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७ को अवसरमा जङ्गी अड्डास्थित श्री ५ पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पणका साथै पृथ्वी नारायण शाह अध्ययन केन्द्रको समुद्घाटन प्रधानसेनापति पूर्ण चन्द्र थापाले गरेको’ सैनिक प्रवक्ताको ट्वीटर पेजमा उल्लेख छ । शालिकमा सलामी तथा सम्मान अर्पणका साथै पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन पनि थापाले गरेको उल्लेख छ । पछिल्लो समय सेनाले परम्परागत अभ्यासलाई सुचारु मात्र गरेको छैन झन् भव्य रुप दिएको छ । पृथ्वीनारायण शाहलाई गणतन्त्र स्थापनापछि अपमान गर्ने देखि जन्मजयन्ती नै मनाउन छाडिएको सन्दर्भमा सेनाले राष्ट्रिय एकता दिवसकै रुपमा मनायो ।-फाइल तस्बिर