Logo

माओवादी पूर्व लडाकु तानातानमा



काठमाडौं, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व लडाकु कमाण्डर कालिबहादुर खामलाई बालुवाटारमा भेटेको विषय चर्चामा आयो । त्यसले प्रचण्डलाई झस्काएको छ । ओलीले पूर्व लडाकुलाई भेटेर विभिन्न आश्वासन समेत दिएका छन् । उनले लडाकुको जीवन प्रचण्डले बर्बाद पारेको भन्दै उनीहरुको समूहलाई आफूतर्फ तान्न खोजिरहेका छन् ।

ओलीको लडाकु तान्ने रणनीति चाल पाएर प्रचण्डले विगतमा टाउको काट्न नपाएकाहरु फेरि षड्यन्त्रमा लागेको बताएका छन् । उनले जालझेल र षड्यन्त्रबाट सजग हुनुपर्ने बताए । ‘हामीविरुद्ध षड्यन्त्र र जालझेल ठुलै थियो ,’ प्रचण्डले पूर्व लडाकुहरुलाई बुधबार सम्बोधन गर्दै भने,‘ टाउको काट्न नपाएकाहरु फेरि जालझेल गर्दैछन् ।’ उनले पूर्व लडाकुहरुलाई पैसाबाट खरिद गर्न खोज्नेहरुबाट सचेत हुन समेत आग्रह गरे । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व लडाकुलाई बालुवाटारमै भेटेर विभिन्न प्रस्तावहरु राखेपछि प्रचण्डको पछिल्लो भनाई आएको हो ।

पूर्व लडाकुहरुलाई भेडा बाख्रा जसरी खरिद विक्री गरेर सिध्याउन खोजेको टिप्पणी गरे । उनले भने,‘ भेडा बाख्रा जसरी खरिद विक्री गरेर सिध्याउन खोजेका हुन् । २० लाख ५० लाख दिएर लाने मोटो बनाएर काट्ने र मासु खाने गरी लाने हो ।’ पूर्व लडाकुसँग आफ्नो आन्दोलन गर्दाको रगतको नाता रहेको बताए । उनले आन्दोलनको नाता सबैभन्दा गाडा हुने बताए । ओली लडाकुलाई फकाउन खोज्ने र प्रचण्ड सम्झाउन खोज्ने क्रम चलि नै रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot