हेटौडा, फागुन १० । मकवानपुरको विकट क्षेत्रमा अवैध गाँजा बरामदका लागि दलबलसहित पुगेको प्रहरी टोलीले नै गाउँमा आतंक मच्चाएको आरोप लागेको छ ।गाँजाको उर्वर भुमि मानिएको क्षेत्रमा प्रहरीले दिनहुँजसो गाँजा बरामद र आरापित स्थानीयलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले असभ्य गतिविधि गरेको भन्दै स्थानीयसँग विवाद भएको थियो । प्रहरीले बाटो अवरोध गरी प्रहरीको काम÷कारबाहीमा बाधा पु¥याएको भन्दै राक्सिराङ गापा वडा–१ का ४३ वर्षीय वडा अध्यक्ष कान्छालाल रुम्बालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।
गाँजा खानतलासी गर्ने नाममा प्रहरीले स्थानीयका सामान र नगद लुटेको सुचनापछि वडा अध्यक्ष रुम्बासमेत घटनास्थल पुगेका थिए । ‘गाँजा अपरेसन’ का लागि भन्दै गएको प्रहरी टोलीले गाउँमा लुटपाट मच्चाउन थालेपछि स्थानीयका निर्वाचित जनप्रतिनिधिका रूपमा घटनास्थल पुगेका वडा अध्यक्ष रुम्बालाई नै प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।
तर, प्रहरीमाथि जाइलाग्ने मुख्य व्यक्ति नै रुम्बा भएको र उनीमाथि थप अनुसन्धानका लागि अदालतबाट आइतबार सात दिन म्याद थप गरिएको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाको भनाई छ। रुम्बाउपर प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै मुद्दा चलाइएको हो । रुम्बालाई हेटौंडास्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
शनिबार साँझ राक्सिराङ गापा वडा–१ स्थित गाल्छाराङमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक शिवराज गुरुङको कमान्डमा इलाका प्रहरी कार्यालय नेवारपानीसहितबाट खटिएको ११ जनाको प्रहरी टोलीले गाल्छाराङमा बारीमा लुकाइराखेको करिब १८ क्विन्टल गाँजा जलाएर फर्कने क्रममा स्थानीयसँग विवाद भएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।