Logo

राजीनामा नदिने संकेत गर्दै प्रधानमन्त्री ओलीको व्यङ्ग्यः लड्डु खाएछन् के पाउँछन् हेर्नुछ



काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने संकेत गरेका छन् । सर्वोच्च अदालतको संसद पुनःस्थापनाको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले लड्डु खाएकोमा व्यङ्ग्य गरेका छन् । उनले प्रचण्ड र नेपालले के के पाउँछन् हेरिरहेको समेत बताए ।

‘सर्वोच्चको फैसला सामान्य कुरा हुन्,’ ओलीले माटोको विद्युतीय नक्शांकनको आज राजधानीमा उदघाटन गरेपछि प्रचण्ड र नेपालप्रति व्यङ्ग्य गर्दै भने,‘लड्डु खाएछन् के पाउँछन् हेर्नुछ ।’ सर्वोच्चको फैसलाबाट विजयी जुलुस निकालेतर्फ बोल्दै प्रश्न गरे,‘के जिते ? थाहा छैन ।’

आफूलाई राजीनामा देऊ भनिरहेको उल्लेख गर्दै त्यतातर्फ चिन्ता नगरेको बताए । उनले हाँस्दै भने,‘मान्छे कति खेर मर्नसक्छ जीन्दगीको ठेगान छैन । जबसम्म बाँचिन्छ राम्रो काम गरिन्छ ।’ उनले पदमा रहुञ्जेल जिम्मेवारी पूरा गर्ने बताए । आफूमा हिजो र आजबीच कुनै फरक नभएको बताए । उनले भने,‘हिजो र आजमा ममा के फरक पाउनुभयो ? फरक हुनुपर्ने आवश्यकता नै छैन ।’

स्वार्थले लपेटिएकाहरुमा मात्र कुनै घटनाले फरक आउने बताए । उनले आफूलाई सुर्यसँग तुलना गर्दै भने,‘उदाउने सुर्य पनि रातै हुन्छ, अस्ताउने सुर्य पनि रातो भएर अस्ताउँछ ।’ आफू कर्तव्य पालनामा दृढताका साथ उभिएको दाबी गरे । देश बनाउने र जनतालाई सुखी बनाउने दिशामा जीन्दगी रहेसम्म प्रतिवद्ध भएर लाग्ने बताए ।

पदमा हुञ्जेल काम गर्छु भन्ने नगर्ने र पदबाट हटेपछि पद नै छैन भनी काम नगर्ने प्रवृत्ति रहेको भन्दै त्यसमा परिवर्तन आउनुपर्ने बताए । आफूलाई कसैले नतर्साउन चेतावनी दिए । उनले भने,‘तर्साउने काम ठिक छैन । सरकार छ काम गर्छ, विकासको काम गरिरहन्छ ।’ Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्