Logo

म्याग्देमा भूमि आयोगको लगत सङ्कलन कार्यालय स्थापना



तनहुँ, १८ फागुन । तनहुँको म्याग्दे गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाइ कार्यालय स्थापना गरिएको छ । गाउँपालिकामा स्थापना गरिएको सो कार्यालयको आज म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना र आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले उद्घाटन गरे ।

भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने सरकारको लक्ष्यबमोजिम गठन भएको आयोगले प्रभावकारीरुपमा काम सम्पन्न गर्नुपर्ने म्याग्दे गाउँपालिकाका मायादेवी रानाले बताए। आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले आयोगले यो पटक जसरी पनि भूमिहीनलाई लालपुर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लगत सङ्कलन कार्यालय उद्घाटनसँगै प्रत्येक वडामा भूमिहीनको लगत सङ्कलनका लागि ३५ दिने सूचना जारी गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए । “अब वडावडामा लगत सङ्कलनका लागि सङ्कलनकर्ता खटाउँछौँ”, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने ।

साथै आयोगका तर्फबाट आज नै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । अभिमुखीकरणमा पालिकास्तरीय सहजीकरण समिति, वडास्तरीय सहजीकरण समिति र तथ्याङ्क सङ्कलनकर्ता गरी ८० जनाको सहभागिता छ । तालीममा भूमिहीन सुकम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको लगत सङ्कलनका लागि फारम भर्ने तरिका सिकाइने आयोगका जिल्ला अध्यक्ष दधिराज सुवेदीले जानकारी दिए ।

आयोगका अनुसार जिल्लाको व्यासनगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दिपुर गाउँपालिकामा पहिलो चरणमा सम्झौता गरी लगत सङ्कलनको कार्य भइरहेको छ । दोस्रो चरणमा म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकासँग सम्झौता गरी कार्य अगाडि बढाइएको छ भने घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकामा कार्यक्रम हुन बाँकी छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot