Logo

गृहले कहिले फिर्ता गर्छ प्रहरी ?



काठमाडौं, २५ फागुन । गृह मन्त्रालयको निर्देशनमा यतिबेला प्रहरीले पूर्व राजादेखि पूर्व डिआईजीसम्मको घरबाट प्रहरी फिर्ता गरिरहेको छ । बिशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धि नयाँ कार्यविधि ल्याएर ठूलो संख्यामा सुरक्षाकर्मी कटौती गरिएको छ । सुरक्षा विश्लेषण नै नगरी कटौती गरिएको भन्दै कतिपयले आक्रोश समेत पोखेका छन् । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा त पूर्व लडाकु खटिएका छन् । पूर्व राजा ज्ञानेन्द्रले सुरक्षा अपुग भएको भन्दै पत्राचार गरेका छन् ।

गृहको निर्णयले पूर्व प्रहरी अधिकारी समेत रुष्ट भएका छन् । अवकाशप्राप्त आइजिपीबाहेक कसैले सुरक्षाकर्मी राख्न नपाइने नयाँ कार्यविधिमा उल्लेख छ । बिशिष्ट श्रेणीबाट अवकाश पाएको व्यक्तिले समेत सुरक्षाकर्मी नपाउने नियमको प्रहरीभित्र पनि आलोचना भएको छ ।

नयाँ कार्यविधिअनुसार तीन सय भन्दा धेरै सुरक्षाकर्मी फिर्ता भएका छन् । थप फर्काउन गृह मन्त्रालयले ताकेता गरिरहेको छ । तर, रमाइलो के छ भने, गृह मन्त्रालयले नै समेत सुरक्षाकर्मीको दुरुपयोग गरिरहेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका २५ भन्दा धेरै चालकहरु गृहमा कार्यरत छन् । अपुग भएर होइन अवैध रुपमा यसरी गृहमा सुरक्षाकर्मीको दुरुपयोग भएको छ । गृहका चालक भन्दा प्रहरीका चालक अनुशासित हुने भएकाले गृहका अधिकारीले प्रहरीको दुरुपयोग गरेका हुन् । अझ उपसचिवहरुले चालक र गाडीको सुविधा नपाउनेमा यसरी दुरुपयोग भइरहेको छ ।

त्यतिमात्र होइन, चिया पकाउने कर्मचारी समेत प्रहरीकै परिचरलाई राखिएको छ । केही सहसचिवले आफ्नो घरमा समेत प्रहरीलाई कामदार बनाएर राखेका छन् । गृहमन्त्रीको सचिवालयमा त्यस्तै अवस्था छ । अनि गृहले अन्य अधिकारीको सुरक्षा कटौती गर्नुले सस्तो प्रचारबाची मात्र देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।-दृष्टिबाट/File photo



प्रतिक्रिया दिनुहोस्