Logo

‘मलाई घेराबन्दी गर्ने कसरत भैरहेको छ, फेरि आन्दोलनको आँधीबहेरी ल्याउनुपर्ने छ’ : प्रचण्ड



काठमाडौं, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले युद्धलाई शान्तिमा, शान्तिलाई संविधान सभामा, संविधान सभालाई संविधान निर्माण गर्ने कुरामा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्पष्ट पारेका छन् ।

आज (शुक्रबार) बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ , नेपाल प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । दलित समूदायको पूरै समर्थन नभएको भए जनयुद्ध शान्तिमा रुपान्तरण गर्न, शान्तिलाई संविधानसभामा र संविधानसभालाई संविधान बनाउने काम नहुने थियो भन्दै उनीहरुको योगदानको सबैले कदर गर्नुपर्ने दाहालको भनाई छ । उनले आफू दलित समूदायप्रति जहिल्यैपनि ऋणी रहेको सुनाए ।

उनले अहिले देशमा संविधानको रक्षा गर्ने कि यसको हत्या गर्ने भन्नेबारे बहस सुरु भएको सुनाए । उनले जरुरी पर्यो भने फेरि आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने भन्दै अपिलसमेत गरे । तर, अब गर्ने आन्दोलन हिंसात्मक नहुने दाहालको स्पष्टोक्ति थियो । अब हुने आन्दोलनलाई उनले कलरफूल रिभोलुसनको संज्ञा दिएका छन् । उनले नेपालमा पछिल्लो दशक भएका परिवर्तन उल्टाईछाड्ने कसरतमा प्रतिक्रियावादीहरु लागिपरेको आरोप लगाए ।

उनले संसद् पूनःस्थापना भएपनि रिल्याक्स गर्नुपर्ने अवस्था नभएको पनि सुनाए । उनले जन्मिएको बच्चालाई फेरि गर्भमा लैजाने काम भएको भन्दै यसलाई केही अनिष्टको संकेत हो कि भन्ने सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot