Logo

देउवाको प्रधानमन्त्री बन्ने साइत नजुरेकै हो ?



काठमाडौं, २ चैत्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने अवसर आइरहेको छ । उनलाई प्रधानमन्त्रीका लागि प्रचण्ड र माधवकुमार नेपालले दुईपटक भेटेर प्रस्ताव गरिसकेका छन् । तर, उनले जवाफ दिइसकेका छैनन् ।

बुढानिलकण्ठमै गएर १२ फागुनमा देउवालाई प्रस्ताव गरेका थिए । त्यसभन्दा अघि पनि प्रतिनिधि सभाको पुनःस्थापनको पक्षमा भूमिका खेल्ने शर्तमा प्रस्ताव गरेका थिए । प्रतिनिधि सभा पुनःस्थापनापछि दुईपटक देउवालाई प्रचण्ड र माधवकुमार नेपालले भेटेर प्रधानमन्त्रीको प्रस्ताव गरिसकेका छन् ।

राष्ट्रिय जनता पार्टीबाट पनि देउवालाई प्रधानमन्त्रीको प्रस्ताव पुगेको छ । तर, देउवाले अझै कदम अगाडि बढाउन चाहिरहेका छैनन् ।

देउवाले सार्वजनिक रुपमा प्रधानमन्त्रीको लोभ नगरेको तर जिम्मेवारीबाट नभाग्ने बताएका छन् । यसबाट उनी सतर्कतापूर्वक घटनाक्रमलाई हेरिरहेको बुझ्न सकिन्छ । उनी हतारमा प्रधानमन्त्री बन्न पाइला सार्ने पक्षमा छैनन् ।

सातपटक प्रधानमन्त्री बन्ने योग रहेको ज्योतिषले भनेबाट देउवा उत्साही छन् । तर, उनी केही महिना समय अनुकूल नभएको सुझावले अड्किएका छन् । देउवाले प्रधानमन्त्रीका लागि उत्तम साइत नदेखेको बुझिएको छ । साइत नआएर देउवा रोक्किएका छन् । अर्कोतर्फ, प्रधानमन्त्रीका लागि बडिहाल्दा राजनीतिक धोकाधडी हुनेमा देउवा शतर्क छन् ।

यसपटक प्रधानमन्त्री बन्न माओवादी केन्द्र र राजपाको पूर्ण समर्थन हुनुपर्छ । काँग्रेसभित्र पनि उनको पक्षमा एकमत हुनुपर्ने अनिवार्य अवस्था छ । तर, पार्टीभित्र सरकारको नेतृत्वमा जान हतारो गर्न नहुनेमा वरिष्ठ नेता रामचन्द्र पौडेलले जोड दिइरहेका छन् । उनी व्यवस्था जोगाउनु पहिलो प्राथमिकता रहेकाले काँग्रेसले अन्य दललाई सहयोग गरेर भएपनि बढ्नुपर्ने बताइरहेका छन् । यसबाट देउवामाथि पार्टीभित्रैबाट चुनौती छ ।

प्रधानमन्त्री बन्न अगाडि बढ्दा असफल भएमा ठुलो झड्का लाग्नेमा देउवा चनाखो भएका छन् । काँग्रेसको १४ औं महाधिवेशन २०७८ भदौभित्र गर्नुपर्ने वाध्यकारी अवस्था छ । त्यसैले देउवा बाटो खुल्ला नभएसम्म हतारिन चाहिरहेका छैनन् । उनको ध्यान पार्टी सभापतिमा बढी देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot