Logo

पुरुष अधिकारबारे पनि बोल



कल्पना खरेल : अन्तर्राष्ट्रिय रुपमा महिला हिंसाविरुद्धको आवाज एकत्रित हुँदै आइरहेको छ । सञ्चार माध्यमले पनि महिला हिंसासँग सम्बन्धित समाचार सामग्रीलाई बढी नै प्राथमिकताका साथ दर्शक, श्रोता तथा पाठक माझ प्रस्तुत गर्छन् । आफूमाथि भएको हिंसाविरुद्ध विश्वव्यापी रुपमा महिलाहरु गोलबद्ध भइरहेको परिप्रेक्ष्यमा वास्तविकता भने अलि भिन्दै छ ।

लैङ्गिक हिंसा तथा घरेलु हिंसाका कारण पीडित महिलाको सख्या बढिरहँदा त्यसको कारक अर्थात् पीडक पनि धेरै जसो महिला नै हुने गरेका छन् । जस्तै; सासूले बुहारीमाथि गर्ने हिंसा, बुहारीले सासूमाथि गर्ने हिंसा, नन्दले भाउजूमाथि अनि भाउजूले नन्दमाथि र यो सँगै जेठानीले देउरानी र देउरानीले जेठानीमाथि गर्ने हिंसा नै किन नहोस् ।

यसरी राज्यले नै महिला हिंसाको विषयमा बढी प्राथमिकता दिइरहँदा हाम्रो समाजमा दिनानुदिन पुरुष उपर भइरहेको हिंसा भने थिचिएरै रहेका छन् । महिलामाथि हिंसा भयो, सुनिदिने थुप्रै निकाय छन् । मुलुक संघीय संचरनामा गएको छ । स् महिलाले ‘म माथि हिंसा भएको छ’ भन्नु मात्रै पर्छ । स्थानीय तहमा वडा सम्मै महिलाको विषयमा वकालत गर्ने संघसस्था सकृय छन् ।

तर पुरुषमाथि हुने हिंसाको विषय हाम्रो समाजमा गौण छ । किनभने नेपाललाई पुरुष प्रधान मुलुकको ट्याग लागेको छ । यस्ता विषयमा न त पुरुष नै खुलेर आउन सक्छन्, न त पुरुष अधिकारको विषयमा आवाजमा उठाउने त्यस्ता संघसस्था नै छन् ।

‘मलाई श्रीमान्ले दिनहुँ कुटपिट गर्छन्’ यही वाक्य एक श्रीमतीले सजिलै भन्न सक्छिन् । तर ‘म श्रीमतीबाट दिनहुँ कुटिन’ परेको छ’ सामाजिक संचरनाका कारण पनि कुनै श्रीमान्ले बाहिर खुलेर भन्न सक्दैन । किन ? किनकि त्यसो भनिरहँदा उसलाई समाजले ‘जोइटिंग्रे’ को बिल्ला भिराइदिन्छ । जसका कारण ऊ थप पीडित मात्रै हुन पुग्छ । न्याय पाउने कुरो त अलि परकै ।

पारिवारिक भूमिका निर्वाह गर्ने पुरुषले अप्रत्यक्ष रुपमा कैयन् पीडाहरु सहिरहेका हुन्छन् । तर त्यस्ता पर्दा पछाडिका पीडा न त समाजले बुझेको हुन्छ, न त आफ्नै परिवारका सदस्यले ।

चलेको रीति अनुसार अविवाहित पुरुषले विवाह गर्छ । जीवनसाथीका रुपमा उसले अर्कै परिवारकी सदस्यलाई आफ्नै जिम्मामा घर भित्र्याउँछ । जो छुट्टै परिवेश, बेग्लै किसिमको उठबस, लवाइखवाइमा हुर्केकी हुन्छे । उसलाई आफ्नो परिवारमा समायोजन गर्ने पहिलो प्राथमिकता पनि तिनै पुरुषको हुन्छ । जुन काम उसका बाबु-बराजुले पनि गरेका थिए ।

नेपाली समाजमा दुई भिन्न ध्रुवमा रहेका परिवार जोड्ने सेतुको काम पनि पुरुषले नै गर्छ । फरक परिवेशका परिवार मिले सबै ठिकठाक हुन्छ । तर भने जस्तो भएन भने थप विवाद र असमझदारी बढ्दै जान्छ । आपसमा ठाकठुक हुन्छ । अनि त्यसवापत उत्पन्न हुने पीडाको सामना पनि बिचरा त्यही पुरुषले गर्न पर्छ ।

नेपाली समाजको बारेका सूक्ष्म रुपमा अध्ययन गरेकाहरु भन्छन्, ‘जति नै परिवर्तन र परिस्कृत भए पनि खासमा समाजको तितो वास्तविकता यही हो, जहाँ सासूले बुहारी र बुहारीले सासूको अस्तित्व सहजै स्वीकार्न सक्दैनन् ।’ त्यसको बीचमा रहेका असल श्रीमान् तथा छोराहरु यसको पीडा सहज बाध्य हुन्छन् ।

जिम्मेवार पुरुषलाई आमा र श्रीमती दुवैको कुरा सुन्नु पर्छ । जो गैर जिम्मेवार छ, त्यसको कुरै नगरौं । जन्म दिने आमाको ठाउँमा आमालाई राख्न खोज्छ भने जीवनभर साथ दिन्छु भन्दै अग्निसाक्षी राखी सम्बन्ध गाँसेको जीवनसंगिनीलाई पनि उस्तै माया र सम्मान दिन पर्ने बाध्यता उसको हुन्छ । त्यो पुरुषका लागि दुवै नारीसँगको नाता अति बढी संवेदनशील हुन्छ ।

सबैलाई थाहा छ, घरमा सासू-बुहारीबीच बेमेलको वातावरण सृजना हुँदा एक पुरुष अति नै असहज स्थितिबाट गुज्रिरहेको हुन्छ । कसलाई स्विकार्नु ? अनि कसलाई त्याग्नु ? आपसमा मिल्दै नमिल्नेलाई कसरी मिलाउनु ? पुरुषले भोग्ने यस्तो पीडाका बारेमा कहीं कतै आवाज उठेको छैन । बरु तिनै सासू-बुहारीलाई उचालेर बाहिरी तत्त्वले परिवारभित्र खेल्ने गर्दछन् । जसको पीडा पनि त्यही पुरुषले भोग्नुपर्छ ।

गरिबी, बेरोजगार अनि राजनीति उतारचढावका कारण ३० लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि अहिले विदेशमै छन् । खुसी परिवार अनि सुन्दर भविष्यको सपना कल्पदै उड्ने धेरै युवाको सपना पूरा हुँदैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देहसँगै उडेको सपनाले अवतरण समेत गर्न पाउँदैन । जसको कथाव्यथा दर्दनाक छ । अनि त्यसबाट पनि तिनै पुरुष पीडित हुन्छन् । तर आवाज उठाइदिने कोही छैन ।

परिवारबाट धेरै टाढा । बिरानो मुलुक । ५० डिग्रीको घाममा लगातारको परिश्रम । श्रमको अवमूल्यन । यस्ता पीडाको बाबजुद पनि नेपाली युवाहरु विदेश जान बाध्य छन् । कारण प्रष्टै छ, सुखी परिवार अनि सुन्दर भविष्य । पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा तिनै पुरुषहरुले पठाएको रेमिट्यान्सबाट मुलुक चलेको छ ।

तर मुलुकले उनिहरुको समस्या बुझ्दैन । मुलुकले त बुझेन, परिवारका सदस्यले समेत उनीहरुको योगदान र समस्या नबुझ्दाको पीडा निकै कहालीलाग्दो छ । ‘वैदेशिक रोजगारले नेपालीको जीवनस्तर उकासिएको छ ।’ समाजशास्त्री भन्छन्, ‘तर पारिवारिक विचलनको अवस्था भने डर लाग्दो छ ।’

एउटा पुरुष विदेश जान्छ । दिनरात नभनी काम गर्छ । कमाएको पैसा श्रीमतीको नाममा पठाउँछ । साहुको ऋण तिर्ने । ठाउँमा घर किन्ने । छोराछोरीलाई राम्रो विद्यालयमा पठाउने । केही वर्ष विदेश बसेर बाँकी समय परिवारका साथ हाँसीखुसी रमाउने ।

यस्तै त हुन्छ नि उड्दै गर्दा उसको मस्तिष्कमा कल्पना गरिएको बाँकी जिन्दगी । तर सबैको जिन्दगी कल्पना गरे जस्तो हुँदैन । उसले वर्षौं रगत पसिना बगाएर कमाएको सम्पत्तिसँगै उसकी प्राणभन्दा प्यारी श्रीमती नै गाया हुन्छे, त्यो पनि स्वदेश फर्केपछि मात्रै उसलाई थाहा हुन्छ । अनि त्यो पुरुषले भोग्ने पीडा के अहिले बजारमा भन्ने गरिएको महिला हिंसाभन्दा कम छ ?

वास्तविकता के पनि हो भने ‘विवाहको केही दिनमै श्रीमान् विदेश उडेपछि जवान ती महिलाको शारीरिक आवश्यकता कसले पूरा गर्ने ?’ अध्ययन अनुसार धेरै महिलाहरु शारिरिक आवश्यकता पूरा गर्नका लागि परपुरुषसँग सम्बन्ध राख्न पुग्छन् । तर क्षणिक रुपमा राखिएको सम्बन्धले कालान्तरमा परिवारमै विचलन ल्याउँछ ।

यस्ता घटनामा पनि महिलाकै जित हुन्छ । महिला अधिकारकर्मीलाई प्रश्न, ‘अधिकारका चर्काचर्का नारा लगाउँदै गर्दा यस्ता विषयमा महिलालाई संवेदनशित बनाउने जिम्मेवारी कसको हो ?’ जानकारहरु भन्छन्, ‘अधिकारकारकै नाममा धेरै महिला अधिकारकर्मीको घरपरिवार नै बिग्रेको छ ।’
माथि उल्लेख गरे जस्तै गरी सबैको अवस्था उस्तै भने होइन । वैदेशिक रोजगारिकै कारण धेरैको भविष्य उज्जवल पनि भएको छ । जसको श्रीमतीसँगै घरपरिवारका सदस्यले विदेशमा बगाएको खुन र पसिनाको सदुपयोग गरेका छन् । विधुर (एकल) पुरुष र वास्तविकताः कारणवश श्रीमतीको निधन भयो भने तुरुन्तै पुरुषले अर्को विवाह गर्छन् भन्ने मान्यता छ । तर सबैको हकमा त्यो लागु हुँदैन । संविधानले नै एकल महिलाका लागि विशेष व्यवस्था गरिदिएको छ । उनीहरुलाई सरकारले भत्तासमेत दिने गरेको छ ।

अधिकारकर्मीहरु पनि एकल महिलाका लागि जोडतोडका साथ आवाज उठाउँछन् । तर एकल पुरुषको अवस्था के छ ? उनीहरुले कस्तो समस्या भोग्नुपरेको छ ? छोराबुहारीले पालेका छन्, छैनन् ? यता कसैको ध्यान पुगेको छैन । एकल महिलालाई जस्तै समस्या एकल पुरुषलाई पनि होला भन्ने यथार्थ अधिकारकर्मीहरुले सोच्नु आवश्यक छ । उनीहरुको एक्लोपनको सम्बोधन पनि हुन पर्छ । सबैको ध्यान पुगोस् जीवनको उत्तरार्धमा एक महिला जस्तै एकल पुरुषलाई पनि समस्या पर्छ ।

अतः महिला अधिकारका विषयमा राज्य संवेदनशील छ । पुरुषको अधिकार खोइ ? सबैको चाहना हो, समाजमा पुरुष होस् वा महिला कोही पनि दुःखी हुनु नपरोस् । राज्यको नीति नियम पनि त्यसै अनुसार बनोस् । अनि बल्ल पूरा हुन्छ, ‘महिलालाई सम्मान गरौँ, आदर्श पुरुष बनौँ, हिंसामुक्त नारी, प्रत्येक पुरुषको जिम्मेवारी, घरशान्ति नै विश्वशान्तिको आधार; महिला हिंसा विरुद्ध शून्य सहिष्णुता कायम गरौँ’ भन्ने विश्वव्यापी नारा ।



प्रतिक्रिया दिनुहोस्

Screenshot