Logo

राजनीतिक सहमतिको सरकारको प्रधानमन्त्री को ?



काठमाडौं, ६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सहमतिको सरकारको विषय उठाएर तरंग ल्याइदिएका छन् । सिन्धुलीमा रिफ्रेसका लागि पुगेका उनले बिहिबार पत्रकार सम्मेलनमा सहमतिको सरकार बन्ने बताएका हुन् ।

कुनै हालतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने उद्देश्यबारे समेत बोलेका प्रचण्डले भनेको राजनीतिक सहमतिको सरकार कस्तो हुने र को प्रधानमन्त्री बन्ने भन्ने चासो बनेको छ । सहमतिको सरकार चुनावी सरकार हुने हो या होइन ? त्यो पनि चासोको विषय बनेको छ ।

काँग्रेस महामन्त्री डा.सशांक कोइरालाले १० दिनभित्र अविश्वासको प्रस्ताव ल्याउने खुलासा समेत गरेका छन् । यसले नयाँ प्रधानमन्त्रीका लागि गृहकार्य घनीभूत भएको बुझिन्छ ।

सहमतिको सरकार बनेमा ओलीबाहेकको प्रधानमन्त्री बन्ने निश्चितप्रायः छ । त्यस्तो अवस्थामा प्रचण्ड र माधवकुमार नेपाल पनि प्रधानमन्त्रीको दौडमा नरहलान् । काँग्रेस सभापति शेरबहादुर देउवा या उक्त दलकै अर्को नेताको नाममा सहमतिको सम्भावना रहन सक्छ । तर, चौथो ठुलो दल जनता समाजवादी पार्टीको पनि दाबी हुनसक्छ ।

जसपाबाट महन्थ ठाकुर या डा.बाबुराम भट्टराईको नाममा राजनीतिक सहमति बन्न सक्छ । ठाकुरलाई काँग्रेसको पनि साथ हुनसक्छ । भट्टराईको नाममा प्रचण्ड लचिलो छन् । पहिलोपटक मधेशी समुदायबाट प्रधानमन्त्री बनाउने गरी ठाकुरको नाममा पनि सहमति बन्नसक्छ ।

राजनीतिक सहमति बनाउँदा स्वतन्त्र व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना पनि रहन्छ । त्यस्तो अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा चुनावी सरकारको अध्यक्ष बन्ने विगतकै अवस्था पनि बन्न सक्छ । अन्य व्यक्तिहरुको नाममा पनि सहमति बन्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot