Logo

अबको आवश्यकता शक्तिशाली सरकार र अनुशासित जनता



सागर पण्डित

काठमाडौं, चैत १३ । सारा विश्वलाई चुनौती दिँदै आइरहेको कोभिड १९ को संक्रमणले फेरि एकपटक सारा विश्वलाई झस्काएको छ । विभिन्न संस्करणमा नयाँनयाँ रूपमा विकास हुँदै आइरहेको कोरोना संक्रमणको दोस्रो लहरको जोखिम नेपालमा पनि देखिन थालिसकेको छ । त्यसैले दोस्रो लहरलाई परास्त गर्न सरकार र हामी नागरिकको सामूहिक प्रयास र सहकार्य आवश्यक छ ।

पहिलो लहरको कोरोनालाई हामीले धेरै हदसम्म नियन्त्रण गर्न सफल भएका हौँ। अनुमान गरिएको भन्दा कम क्षतिमा नै पहिलो लहरको कोरोना नियन्त्रण हुन सकेको हो । यसका लागि ढिलै भए पनि सरकारद्वारा ल्याइएका सकारात्मक कार्यक्रम र योजनाले धेरै हदसम्म काम गरेको हो । अहिले त हामीले खोपसमेत लगाउने अवसर पाएका छौं । त्यसैले अब कोरोनासँग डराएर बस्नुपर्ने अवस्था छैन । तर यसका लागि आवश्यक सर्तकता र सावधानी अपनाउने विषयलाई भने कहिल्यै पनि बेवास्ता गर्नुहुँदैन ।

हामीकहाँ धेरै प्रकारका सम्भावना र अवसर भए पनि हाम्रो देश विकास र समृद्धिमा सधैं पछि पर्दै आएको दुःखदायी अवस्था छ । पछिल्ला तीन वर्षदेखि मुलुकमा स्थायी सरकार भए पनि सत्तारूढ दलभित्रको किचलोका कारण सरकारले प्रभावकारिताका साथ काम गर्न पाएन ।

आफ्नै पार्टीभित्रबाट सरकारलाई धेरै असहयोग गरियो र काम गर्नै दिइएन । तर पनि सरकारले विकास र समृद्धिका लागि दूरगामी असर पार्ने खालका महत्वपूर्ण योजनाको सुरुवात गरेको छ भने वर्षांैअघि सुरु भएर पूरा हुन नसकेको मेलम्ची खानेपानी आयोजनालगायतका योजनालाई सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यो सरकारलाई इतिहासमा ठूलो उपलब्धि हासिल गराएर देखाउने अवसर मिलेकै हो तर पनि सरकारले आफ्ना सबै संयन्त्रलाई एकैपटक गतिशील गराएर परिणाम निकाल्ने वातावरण भने विभिन्न कारणले बन्न सकेन । पछिल्लो एक वर्षदेखि त कोरोना संक्रमणले गर्दा सबै क्षेत्र नराम्ररी प्रभावित हुन पुगेको छ । यसैका कारण पनि विकास र समृद्धिको ढोकामा धेरै अवरोध सिर्जना हुन पुगेका छन् ।

यी सारा समस्याका बाबजुद पनि सरकारले आफूसँग रहेका साधन र स्रोतको अधिकतम प्रयोग गरी मुलुकलाई प्रगति मार्गमा हिँडाउने प्रयासलाई जारी राख्दै आइहेको यथार्थतालाई बिर्सन मिल्दैन ।

कोरोना संक्रमण नियन्त्रणमा गइरहेको अवस्थामा पुनः दोस्रो लहरको जोखिमले समस्या निम्ताउने देखिन्छ । कोरोना संकट सुरु भइरहेको अवस्थामा पनि हिजोका दिनमा सत्तारूढ दलभित्रको अन्तरकलह नराम्ररी चुलिएको थियो ।

पद, शक्ति र सत्ताकै लागि सत्तासीन दलको झगडा नराम्ररी फैलिँदा मुलुकले समेत क्षति भोग्नुपर्ने अवस्था आयो । एकथरी पक्ष जुनसुकै हालतमा पनि सरकारलाई विस्थापन गरी राजनीतिक अस्थिरताको बीज रोप्ने खेलमा हिजो थिए र आज पनि छन् । तर उनीहरूको सबै खेल बिस्तारै असफल हुँदै गइरहेका छन् । अहिले देशले झन्डै एक वर्षदेखिको कोरोना संक्रमणबाट पार पाउँदै आर्थिक क्षेत्रदेखि सबै क्षेत्र बिस्तारै चलायमान हुँदै आइरहेका छन् ।

यस्तो अवस्थामा पुनः कोरोना संक्रमणको दोस्रो लहरले एकाएक सबै क्षेत्रमा त्रास बढाएको छ । सुरुको लडकाउनको जस्तो नियति अब कहिल्यै कसैले पनि भोग्नु नपरोस् भन्ने कामना सबैले गरिरहेका छन् । आशा गरौं, सरकारले त्यस्तो अवस्था आउन दिने छैन । तर पनि संकट आउन सक्छ । दोस्रो लहर सुरु भएमा त्यसलाई कसरी प्रतिरोध गरेर नागरिकको जीवन रक्षा गर्न सकिन्छ भन्नेमा सरकारको विशेष ध्यान जान जरुरी छ ।

त्यसैले वैज्ञानिक खालको प्रतिकार्यत्मक योजना बनाइ हाल्नुपर्छ । यस्तो संवेदनशील अवस्थामा फेरि पनि मुलुकमा सरकार परिवर्तनको खेल खेलिन्छ भने त्यो अब निकै घृणित खेल हुनेछ । अब बाँकी समय वर्तमान केपी शर्मा ओली नेतृत्वकै सरकारलाई प्रभावकारी रूपमा काम गर्न दिनुपर्छ । सरकारले पनि सबैको मन जितेर सबैलाई समेटेर कोरोनाविरुद्धको लडाइँमा एकीकृत रूपले अगाडि बढ्दै विकास र समृद्धिको महाअभियान थाल्न ढिलाइ गर्नुहुँदैन् ।

पारदर्शी र चलायमान सरकारः
विश्वमा हेर्ने हो भने जुन देशमा पारदर्शी, चलायमान र बलियो सरकार तथा अनुशासित जनता छन् त्यो देशले विकास र समृद्धिलाई सहजै रूपमा पहिल्याउन सकेको छ । अहिले कोरोना संक्रमण नियन्त्रण गर्न पनि त्यस्तै सरकार सफल भइरहेका छन् । जसको उदाहरणको रूपमा चीन, जापान, अस्ट्रेलिया, जर्मन, दक्षिण कोरिया, सिंगापुरलगायतका देशलाई लिन सकिन्छ । त्यसैले हामीले पनि यसविरुद्ध विजय हासिल गर्ने हो भने सरकार पारदर्शी र बलियो हुनैपर्छ भने आम नागरिक पनि सकारात्मक सोचका साथ अनुशासित भएर कोरोना भाइरसविरुद्धको लडाइँमा होमिनुको विकल्प छैन । नकारात्मक सोच, अराजकता, भ्रम फैलाउने प्रवृत्ति, खबरदारीका नाममा ध्वंशात्मक चरित्र प्रदर्शन गर्दै जाने हो भने कोरोनासँगको लडाइँ निकै जटिल भएर जान सक्छ ।

त्यसैले नागरिक स्तरमा ठूलो अनुशासन र संयमता अत्यावश्यक छ । कोरोना संकट निवारण र विकास आयोजनालाई अब सँगै लिएर हिँड्न सक्नुपर्छ । साथै भ्रष्टाचारविरुद्धको अभियानलाई पनि अब सशक्त बनाएर अघि बढ्न सक्नुपर्छ । कोरोना संक्रमण न्यूनीकरण गर्न विगतमा नेपालमा लागू गरिएको लकडाउनको मोडालिटी पूर्ण रूपमा असफल साबित भएको हो । लकडाउन गर्नुभन्दा पनि भारतीय सीमानाकाको व्यवस्थापनमा गम्भीर ध्यान दिन जरुरी छ ।

यसैगरी तेस्रो देशबाट आउने नागरिकलाई निश्चित अवधिसम्म क्वारेन्टाइनमा राख्नुपर्छ र अन्य देशको कोरोनाको प्रभाव हेरी अन्तर्राष्ट्रिय विमानस्थललाई केही दिन बन्द राख्न पनि सकिन्छ । कोरोना संकट निवारण गर्न होस् कि अन्य विकासका कार्यक्रम लागू गर्न होस्, सरकारले आफ्ना सबै संयन्त्रलाई पारदर्शी बनाउन सक्नुपर्छ । भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कडाइका साथ लागू गर्नुपर्छ ।

यस्तो अवस्थामा सरकार नागरिकको घरदैलोमा पुग्नुपर्छ । पारदर्शी बन्नुपर्छ । जनताको चहराइरहेको घाउमा मलहम लगाउन सक्ने सरकार मात्रै बलियो हुन सक्छ । सरकार बलियो बन्न सकेमा कोरोनाविरुद्धको लडाइँ पनि सशक्त भएर अघि बढ्छ । यस्तो संकटका बेला सरकारले उद्योगी व्यवसायीको समस्या पनि बुझ्नुपर्छ ।

बन्द गरौं सरकार परिवर्तनका सबै खेलः
प्रमुख राजनीतिक दलहरूले अब सरकार परिवर्तनका सबै खेल बन्द गर्नुपर्छ । प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सायद अहिलेको अवस्थाको सही विश्लेषण गरेरै हुन सक्छ आफू सरकार परिवर्तनको खेलमा नरहेको बताउँदै आइरहेका छन् । यसले उनको परिपक्व राजनीतिक संस्कार उजागर गरेको छ ।

सत्तारूढ दल एमालेभित्रका असन्तुष्ट पक्षले पनि अब सरकार ढाल्ने खेललाई पूर्ण रूपमा अन्त गरेर मुलुकको समृद्धिको ढोका खोल्ने सरकारको अभियानमा साथ दिनुपर्छ । यसैगरी माओवादी केन्द्रको पनि मुख्य लक्ष्य नै देश र जनताको हित भएकाले उसले पनि वर्तमान सरकारलाई सहयोग गरी मुलुकमा विद्यमान देखिएका समस्या समाधान गर्दै विकास र प्रगतिमा लाग्न सक्नुपर्छ । सबै राजनीतिक दल यही दिशमा अग्रसर हुनुको विकल्प छैन ।

लजिकल वारमार्फत विजयः
अहिले विश्वमा देखिएको यो संकटलाई प्रकृतिले मानवमाथि थालेको बायोलोजिकल वार ९जैविक युद्ध०को रूपमा लिन सकिन्छ । अध्ययनमै व्यस्त रहेका समाजशास्त्री तथा वातावरणविद्का अनुसार अप्रत्यक्ष रूपमा मानव सिर्जित समस्याको अत्यन्तै उग्र रूप हो यो । यो जैविक युद्धलाई परास्त गर्नका लागि सिंगो मानव जगत्मा कठोर खालको अनुशासन अत्यावश्यक छ ।

यसका साथै हरेक देशले यसविरुद्ध अपनाउने रणनीति, कार्यनीति, कार्यक्रम र समग्र साधनस्रोतको उचित परिचालनले मात्रै यो संकटमाथि विजय हासिल गर्न सकिन्छ । अहिले विशेष गरी अमेरिका, युरोपका केही देश चीन, भारतलगायतले कोरोना भाइरसविरुद्धको खोप बनाउने र औषधि पत्ता लगाउन सतत प्रयास गरिरहेका छन् । कोरोनासँग लड्न यतिबेला समग्र विश्वले लजिकल वार ९स्रोत साधन र मानवीय जनशक्तिको वैज्ञानिक व्यवस्थापन गरी उच्चतम परिचालन० गरिरहेका छन् । नेपालले पनि सोहीअनुसार लजिकल वार गरेर मात्रै विजयी हासिल गर्न सक्ने र संकटबाट पार पाउन सक्ने भएकाले यस विषयमा सरकारी पक्ष थप संवेदनशील बन्नैपर्छ ।

कठोर अनुशासन र स्रोत साधनको उच्चतम प्रयोगः
हामीकहाँ कोरोना संक्रमणमाथि विजय हासिल गर्ने प्रमुख औजार भनेकै नागरिकस्तरमा कठोर अनुशासन कायम गर्दै सरकारले आफूसगँ रहेको साधन, स्रोत र जनशक्तिको अत्यधिक परिचालन गर्नु हो । यसका साथै विकास र समृद्धि हासिल गर्न पनि सोहीअनुसारका नीति योजना र कार्यक्रम तय गर्दै त्यस्ता कार्यक्रमलाई पारदर्शिताका साथ लागू गराउन सक्नुपर्छ ।

संकट व्यवस्थापनको स्पष्ट खाका आवश्यकः
दोस्रो लहर देखिएकाले बुद्धिमतापूर्वक एवं प्रभावकारी रूपमा समाधान गर्न तत्काल संकट व्यवस्थापन खाका बनाउनुपर्छ । सरकारले यो महामारीको दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक कार्यनीति र कार्ययोजना बनाउनुपर्छ । महामारीसँग जुध्न बनाइएको कोरोना नियन्त्रण कोषको परिचालन पारदर्शी रूपमा गर्नुपर्छ ।

सरकारलाई शक्तिशाली बनाउनुपर्छः
जुन देशमा सरकार शक्तिशाली छ, ती देशले कोरोना महामारीलाई नियन्त्रण गरिरहेको देखिन्छ । शक्तिशाली देशमा आम जनताको साथ लिएर सरकार कोरोनाविरुद्धको महामारीसँग जुधेकाले नै ती सरकार सफल भएका हुन् । त्यसैले हाम्रो सरकारले पनि आम जनताको सहयोग र साथ लिन सक्नुपर्छ । जनताहरूले पनि नकारात्मक भावना त्यागेर महाविपत्तिविरुद्ध सरकारले चालेको कदममा पूर्ण रूपमा सहयोग गर्नुपर्छ ।

संघीय शासन व्यवस्थाको सफल कार्यान्वयन गर्ने हो भने पनि यस्ता विपत्तिसँग सहजै लड्न सकिन्छ । गाउँका सिंहदरबारका रूपमा रहेका स्थानीय सरकार यस्तो विपत्तिको अवस्थामा आफ्ना जनताको सुखदुःखको वास्तविक सारथि बन्न सक्नुपर्छ । स्थानीय तहले विकासको मूलसमेत फुटाउन सक्नुपर्छ । केन्द्रीय सरकारले स्थानीय सरकारलाई पूर्ण सहयोग गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot