मुना चौधरी : …माइतीबाट बा र काकाहरुले अङ्ग्रेजी बाजा अनि पण्डितलाई समेत लिएर आएका थिए । एकछिनमै डगहरम झ्यामझ्याम बाजा बजाउन थाले । आहा कस्तो रमाइलो । विरक्तिएको मन बाजाको आवाज सुनेर सारै प्रसन्न भयो । गाउँका पञ्च, भद्रभलाद्मी र गाउँलेसमेत आए । बाजाको आवाज सुनेर गाउँका सबै केटाकेटीदेखि लिएर बूढापाकासमेत जम्मा भए । जम्मा भएका सबैलाई हामीले नास्ता खुवायौँ । नास्तामा आलु मटरको दम र मूलाको अचार थियो । सबैजनाले नास्ता खाइसकेपछि बाजा बजाउने मान्छेलाई नास्ता खुवायौँ । त्यसपछि गाउँका पञ्च, भद्रभलाद्मी, गाउँका मान्छे तथा आफन्त सबैजना मेरो र उनको छुट्टापत्तर गराउनको लागि पञ्चैती बसे । खलियानदेखि डगहरसम्म मानिस जम्मा भएका थिए । मान्छेको भिड टनाटन थियो । खचाखच मान्छे भरिएका थिए पञ्चैतीमा । महिलाहरु पनि टन्नै जम्मा भएका थिए । स÷साना ठिटाठिटी नाङ्गै आ÷आफ्ना बाआमासँग उभिएर पञ्चैती सुनिरहेका थिए । उनी र सासू, ससुरा भोज खान आएनन् । सासूले घरमै खाना बनाएकी थिइन् । पञ्चले बोलाएपछि उनीहरु पनि खलियानमा आए । एउटा कुनामा बसे ।
मेरा बाआमाले झन, बिहेमा जति विधि भएको थियो त्यति बिधि गरेर छुटापत्तर हुनुपर्छ भन्ने प्रस्ताव पञ्चलाई राखे । त्यसैले बाआमाले पण्डित र बाजा ल्याएका थिए । तर मैले बाआमाको प्रस्ताव स्वीकारिनँ । त्यो चरित्रहीन मान्छेसँग म पवित्र मण्डपमा छुट्टापत्तर गर्नको लागि भए पनि बस्दिनँ भनेँ । मेरो कुरा सुनेर पञ्चले सोधे, तँ के चाहन्छस् बुहारी ? केटोसँग बस्छेस् कि छुट्टापत्तर लिन्छेस् ? मैले उनीतिर हेदै भनेँ– ‘ म अर्को बिहे गर्छु त्यो पनि उनकै घरबाट । मेरा सासूससुराले मेरो कन्यादान गर्नुपर्छ र उनले मलाई बिदाइ गर्नुपर्छ ? मेरा बाआमाले कन्यादान गरेर मेरो जिम्मेवारी उनलाई सुम्पेका थिए । उनीहरुले अब आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । मेरो कुरा सुनेर पञ्चले टाउको तल निहुराए । सोचमा परे । एकछिन केही बोलेनन् । उनी नबोल्दै मैले थपेँ, उनी अर्को बिहे गर्न सक्छन् भने म किन गर्न सक्दिनँ ? बूढी हुँदा हुँदै अर्की आइमाईलाई भुँडी बोकाउन सक्छन् भने म अर्को बिहेबारे किन सोच्न नसक्ने ? मेरो कुरा सुनेर त्यहाँ उपस्थित भएको सबैजना स्तब्ध भए । पूरै सभा मौन भयो । कोही केही बोलेका थिएनन् । सबैजना पञ्चको अनुहारतिर हेरिरहेका थिए । पञ्चले केही बोल्लान् भनेर जवाफको प्रतीक्षामा थिए सबैजना ।
लामो मौनतापछि उनीतिर हेर्दै पञ्चले भने– ‘ प्रज्ञा भन्ने केटीलाई घरबाट निकाल् । जहाँबाट ल्याएको छस् त्यही पु¥याइदे । समाजको अगाडि जोसँग बिहे गरेको छस् त्योसँग बस् । उनले केही बोल्नुभन्दा अगाडि मैले बोलेँ, म यो चरित्रहीन मानछेसँग बस्न राजी छैन । प्रज्ञालाई राखे पनि नराखे पनि म उनीसँग बस्दिनँ । यही नै मेरो अन्तिम निर्णय हो । सहेर बस्ने यही बानीले छोरी र बुहारी समाजबाट हेपिएका छन् । जे जति भयो त्यो सबको त हिसाब छैन मसँग तर अब त्यस्तो हुन दिने छैन म । म छुट्टापत्तर गर्छु उनीसँग । छेउमा भएको प्लास्टिक गिलासमा भएको पानी सिउँदोमा खन्याएँ । खन्याउँदै भने म उनको नामको सिन्दुर सबैका अघि पुछ्दै छु र उनको लागि लगाएको टीका आजैदेखि फाल्दै छु भन्दै सारीको सप्कोले सिउँदोको सिन्दुर पुछेँ । निधारमा लगाएको टीका पर फालेँ । दुईटै हात खलियानको भुइँमा दुइटै हात पट्किँदै चुरा फुटाउँदै भनेँ– ‘ उनले दिएको श्रृङ्गार आज यही सबैको अघि फुटाउँदै छु । प्याटप्याट गर्दै सबै चुरा मैले हातबाट फुटाएँ । उनको नामको सिन्दुर मेरो सिउँदोबाट पखालिसकेको थियो । उनको बन्धनबाट मुक्त फुका अनुभव गरेँ । भित्रबाट मनै प्रसन्न भयो । त्यहाँ उपस्थित सबैजना मेरो अनुहारतिर हेरिरहेका थिए । कोही केही बोलेका थिएनन् । एक छिनमा तालीको गडगडाहट सुनियो । आइमाई साथीहरुले ताली बजाइरहेका थिए । त्यहाँ उपस्थित पुरुष पनि नचाहेर पनि अप्ठ्यारो मान्दै ताली पड्काइरहेका थिए । उनी र उनका बाआमा रिसाएको अनुहार लिएर बसिरहेका थिए ।
ताली पड्काउन बन्द भएपछि पञ्च उनलाई बोले– ‘ जोगिराम तँ के गर्न चाहन्छस् ? तेरो विचार के छ ? बुहारीलाई छोड्न चाहन्छस् ? छुट्टापत्तर दिन्छस् ?
उनी मतिर हेर्दै भने– ‘ऊ बस्न चाहन्छे भने म राख्छु ।’ उनको आवाज सुनेर पञ्चले भने– ‘दुईजनालाई राख्छस् ? दुईजनालाई राख्न पाउँदैनस् ।’ पञ्चको कुरा सुनेर उनले भने– ‘प्रज्ञालाई पनि म छोड्न सक्दिनँ ।’ मतिर औँला ठड्याउँदै उनले भने– ‘उसलाई पनि म छोड्न सक्दिनँ ।’ उनको कुरा सुनेर मैले लगाएको खुट्टाको चप्पल निकालेर उनलाई हान्नेगरी उनीतिर फाल्दै भनेँ– ‘कुकुर तँ मतिर औँला देखाउँदै नदेखा । को होस् मेरो तँ ? म तँलाई आजदेखि, अहिलेबाट चिन्दिनँ । तँसँग म कुनै पनि अवस्थामा बस्दिनँ ।’ मेरो कुरा सुनेर सासू जङ्गिदै मतिर औँला सोझ्याउँदै भनिन्– ‘तँ मेरो छोरोलाई कुकुर भनेर गाली गर्ने होइन ।’ सासूतिर हेर्दै भनेँ– ‘मतिर औँला ठड्याउने होइन ? ठड्याउनु छ भने त्यो कुकुरतिर औँला ठड्याउनुस् ।’ फेरि सासू के बोल्न लागेकी थिइन् । त्यतिकैमा पञ्चले उनलाई रोके । रोक्दै मलाई क्रूर आवाजमा सोधे– ‘अन्तिमपटक सोध्दै छु बुहारी तँ साच्चिकै छुट्टापत्तर गराउँछेस् ?’
मैले नम्र भएर जवाफ फर्काएँ– ‘दुईवटा उपाय छ मसँग । सासूससूराले अर्को केटो खोजेर मेरो बिहे गराइदिनुपर्छ त्यो पनि मेरो लायकको । अर्को शर्त उहाँहरुले मेरो बिहे गराउन सक्नुहुन्न भने मेरो बिहेमा मेरो माइतीले दिएको सबै सामान र वस्तु फिर्ता दिएर मलाई इज्जतसाथ माइती पठाउनुपर्छ ।’ मेरो कुरा सुनेर सासूले निधार खुम्च्याइन् ।
म पढेलेखेकी भए आधा सम्पत्ति पनि माग्थेँ । तर मैले सम्पत्ति पाउनुपर्छ भनेर माग राखिनँ । पञ्चले उनीहरुतिर हेर्दै भने– ‘बुहारीका माग तिमीहरुलाई स्वीकार्य छ कि छैन ? विचार सुनाओ । पीडितको पक्षमा पो मैले निर्णय गर्नुपर्छ । यहाँ पीडित बुहारी छे । बुहारीको पक्षमा मैले निर्णय गर्नुपर्छ । त्यो केटोले प्रज्ञालाई नछोड्ने भन्छ ।’ पञ्च मतिर हेर्दै भने– ‘बुहारी तेरो निर्णय पनि म स्वीकार्दिनँ । तेरो अर्को बिहे कसरी सासूससुराले गराउँछन् । गाउँलेहरुतिर हेर्दै पञ्चले भने– ‘मेरो निर्णय सुन जोगिया र प्रज्ञा दुवैजनालाई चौबटियामा लगेर बाँसको काँचो कर्चीले कुटेर छुलछुल मुत्नेगरी कुट्न लगाउँछु । त्यसपछि दुवैजनालाई गाउँनिकाला गर्छु ।’ ससुरा र सासूले हातको इसारा गर्दै यो हुँदैन भनिरहेका थिए । उनीहरु केही बोल्नुभन्दा अघि मैले बोलेँ– ‘यो त पुरानो विधि भयो पञ्चबा । कुटाइ खाउन्जेलमात्र उनीहरुले आफ्ना गल्ती सम्झिने छन् । त्यसपछि बिर्सेर जाने छन् । यो निर्णय महिलालाई झन कमजोर देखाउने उपाय हो । मलाई पनि यो समाजको लागि केही गर्ने मौका दिनुहोस् । समाजमा नयाँ पुस्ताको लागि केही बाटो बनाउने ठाउँ दिनुहोस् ।’
मैले बोल्दै गर्दा सासू त्यहाँबाट रिसाउँदै उठेर गइन् । उनको बाले बोले– ‘बुहारीले बिहेमा जति सामान ल्याएकी छिन्– त्यति सामान दिन हामी तयार छौँ । अर्को बिहे गराउन हामी सक्दैनौँ ।’
पञ्चले केही नबोल्दै मैले भनें– ‘मलाई मेरो सामान फिर्ता गर्नुस् । म यहाँबाट जान्छु ।’ मेरो कुरा सुनेर उनी केही बोलेनन् । मेरो कुरा सुनेर पञ्चले भने– ‘म आफ्नो पुरानो निर्णय फिर्ता लिएँ । तेरो इच्छाअनुकूल म निर्णय गर्न तयार छु । तँ खुसी छस् भने तैँले भनेअनुसार हुन्छ बुहारी । तँ सबै सामान फिर्ता पाउने छस् । सबै सामान लिएर जा । यस्ता दुष्टको घरमा केही नछोड् ।’ पञ्चतिर उनी र उनका बा ठूलठूला आँखा तर्दै थिए । पञ्चले फेरि थपे– ‘आजबाट तिमीहरु दुवैजनाको छुट्टापत्तर भयो । आजबाट तिमीहरु दुवैजना आ÷आफ्नो बाटो लाग्ने छौ । आजबाट तिमीहरु सामाजिक रूपमा छुट्टापत्तर पायौँ । सामाजिक र व्यक्तिगत रूपमा आज अहिलेबाट तिमीहरु पतिपत्नी रहेनौ ।’
पञ्चको निर्णय सुनेर त्यहाँ उपस्थित सबै स्तब्ध भए । आइमाईहरु आँसु पुछिरहेको थिए । पञ्चले फेरि भने– ‘तँ धेरै साहसी नारी हो बुहारी । कति सामान बिहेमा ल्याएकी थिइस् । लेखेर दे ।’ बाआमाले माइतीबाटै लेखेर ल्याएका थिए । बाले अरु सामान सम्झिँदै त्यही कागजमा थपेर पञ्चलाई बुझाए । पञ्चले कागजमा लेखेको सामान र वस्तुको नाम सबैको अघि सुनाए– ‘एक तोलाको सुनको सिक्री, चार÷चार आनाको आठओटा सुनको औँठी, चाँदीको सातवटा सिक्री, मोटरसाइकल, दुईवटा भैँसी, सातवटा गाई, राइस कुकर, ग्यास चुलो र सिलिन्डर, सोफा, टेबल, कुर्सी, सिरक, दसना, तकिया, तन्ना । यी सबै सामान सकुशल बुहारीलाई फिर्ता दिनुपर्छ । यही नै मेरो अन्तिम निर्णय हो । उनी र उनका बा केही बोलेनन् ।
यति भन्नेबित्तिकै अङ्ग्रेजी बाजा बजाउनेले बाजा बजाउन थाले । बाजाको धुन यति मिठो लाग्यो कि बिहेमा पनि मलाई यति मिठो लागेको थिएन बाजाको धुन । छुट्टापत्तरको निर्णयपछि हामीले सबैजनाको बिनो (खाना खुवाउने) गरायौँ । दुईटा खसी काट्न लगाएकी थिएँ । रहरको दाल, काउली, आलु, फर्सीको सनुवा र अमादीको अचार र मासु, भात पाकेको थियो । हामीले सबै जनालाई खाना खुवायौँ छुट्टापत्तरको खुसीमा । म यति खुसी थिए कि मेरो लोग्ने भनाउँदो मान्छेसँग जे जति माया थियो– त्यो सबै त्यही भोजसँग मिल्काइसकेकी थिएँ । मैले मेरो टाउकाबाट एउटा भारी बोझ बिसाएकी थिएँ । मन कपासझैँ हलुका भएको थियो ।
गाउँका बूढी आमा र समूहका आइमाई आँसु पुछ्दै खाइरहेका थिए । उनीहरु मेरो बिछोडमा रोइरहेका थिए । मैले उनीहरुको छेउमा गएर भने– ‘आजबाट म तपाईंहरुकी छोरी र बहिनी बनेँ । म पछि पनि तपाईंहरुलाई भेट्न आइरहने छु । मलाई खुसी पार्न चाहनुहुन्छ भने खाना खानुहोस् । उनीहरु मेरो कुरा सुनेर आँसु पुछ्दै मुसुमुसु हाँसे । उनको घरबाट कोही बाहिर निस्केका थिएनन् । मेरा बाले दुईओटा ट्राइकटर र बस मगाइसकेका थिए बिहेमा दाइजो दिएका सामान फिर्ता लग्नको लागि । थारुमा दाइजो नगद नदिने चलन रहेकाले बिहेमा दाइजोको रूपमा नगद दिएका थिएनन् ।
खाना खाएर पञ्चसमेत गरेर सबैजना आँगन गयौँ । गाउँबाट केटाहरुलाई पञ्चले बोलाएका थिए सघाउनको लागि । खाना खाएर आइसकेपछि सबै सामान केटाहरुले ओसार्दै गाडीमा चढाउन थाले । उनीहरुले नचिनेका सामान म, आमा र समूहका साथी मिलेर केटाहरुलाई सामान चिनाइदिएका थियौँ । धान, चामल र गहुँ खाइसकेका थिए । त्यसैले पञ्चको आज्ञाअनुसार केटाहरुले भकारी फुटाउँदै धान, गहुँ र चामल तोकिएजति बोरामा हाल्न थाले । भकारी फुटाएको देखेर ससूरा टाउकामा हात राखेर बसिरहेका थिए । सासू छोरोलाई गाली गर्दै भनिरहेकी थिइन्– ‘तेरो कारणले मेरो घर बर्बाद भयो । मेरो लक्ष्मीजस्ती बुहारी घरबाट जाने भई । पिशाचनीलाई ल्याएर तैँले यो के गरेको ?’ उनी केही नबोलिकन हातले आँसु पुछ्दै सासूको छेउमा उभिरहेका थिए । प्रज्ञा केवारको कापबाट चियाइरहेकी थिइन् । सामान ओसारेको, ठ्याङ्ठुङ् आवाज आइरहेको थियो । सबैजना सामान ओसार्न व्यस्त थिए । दुईटा ट्राइक्टरमा मात्र सामान नअट्ने भएकाले बाले गाईभैँसी लग्नको लागि चारवटा फुलडला बोलाए । गाउँका सबैजना रमिता हेर्न जम्मा भएका थिए । कोही मेरो प्रशंसा गर्दै, यति राम्री स्वास्नीलाई केटोले कसरी छोड्न सकेको होला ? कसैले, केटोले छोडेको होइन । बुहारीले नै केटोलाई छोडेकी नि । कसैले कस्तो मति बिग्रेको होला केटोको । कसैले जस्तो कर्म ग¥यो त्यस्तै फल पाउँदै छ केटोले भन्दै थिए ।
मेरा समूहका साथीले कसैले नयाँ सारी, कसैले नयाँ चुरा ल्याएर मलाई लगाउन दिए । तर मैले लगाउन मानिनँ उनीहरुको उपहार सम्हालेर पोको पार्दै राखे । पछि लगाउँछु भनेर । अङ्ग्रेजी बाजा धुमधराक बजाइरहेका थिए । यो मेरो लागि दुःख होइन– एउटा सुखद क्षण थियो । ममाथि अन्याय गर्ने पुरुषबाट छुटकारा पाउँदै थिए म । मन फुरुङ्ग भइरहेको थियो । मेरो अनुहारमा उदास नामको कुनै वस्तु थिएन । सबैजना मतिर हेरेर रोइरहेका थिए तर अहँ, म रोइनँ । किन हो कुन्नि मेरो आँखामा आँसु नामको वस्तु नै आएन । उल्टै रुनेहरुतिर हाँस्दै म सोच्थेँ, किन रोएका होलान् यिनीहरु मलाई देखेर ?
उनले आफ्नी आमालाई सबै गहना राख्न दिएका रहेछन् । उनकी आमा रुँदै अलमारीबाट बिहेमा दिएका सिक्री र औँठी निकालेर दिइन् । उनले मोटरसाइकलको साँचो र हेलमेट आँसु पुछ्दै मेरा बाका अगाडि राखे । काकाले साँचो र हेलमेट राखे । सबै सामान गाडीमा हाल्न धेरै समय लाग्यो । करिब तीन घण्टा लाग्यो । साँझ पर्न लागेको थियो । सामान ओसारिसकेपछि त्यहाँ उपस्थित गाउँले, पञ्च, भद्रभलाद्मी र महिला समूहका साथीलाई हात हल्लाउँदै बिदा भएँ । उनीतिर एकपटक पनि हेरिनँ । उनका बाआमालाई, जा ढोग भनेर आमाले भनेपछि म उनका बाआमालाई ढोगेँ । ढोगेको देखेर उनका बाआमा डाको छोडेर रुँदै भने– ‘हामीलाई छोडेर नजा ।’ म पछाडितिर नहेरिकन गएर बसमा बसेँ । बाजा बजाउनेहरु पनि ट्राइकटरमा बस्दै बाजा बजाउँदै हामी त्यहाँबाट बिदा भयौँ ।
माइती फर्केर म धेरै खुसी थिएँ । मानौँ मेरो बालापन फेरि फर्केर आएको थियो । उनको सम्झना मलाई एकदिन पनि आउँदैनथ्यो । उनलाई सम्झियो कि टाउको भारी हुन्थ्यो । उनको लागि मैले किन टाउको दुखाउने ? मेरो जीवनमा उनले दाग लगाएर गएका थिए । म बेदाग महिला हुँ भनेर त भन्न सक्दिनँ । तर अन्याय गर्नेमाथि बदला लिएर मैले आफ्नो जीवन बेदाग बनाएकी छु । जसले जेसुकै भनून् तर म आफ्नो निर्णयदेखि खुसी छु ।
एक महिनापछि मेरा बा मेरो लागि केटा खोज्न व्यस्त थिए । बिहे नभएका केटा पनि धेरै हेर्न आए तर बाले आलाकाँचालाई छोरी नदिने निर्णय लिएका थिए । आलाकाँचालाई मेरो हात थमाएर मैले दुःख पाएकी थिएँ भनेर बाको अनुमान थियो । उनी धेरै पढेलेखेका, समझदार र इमानदार मान्छेलाई मेरो हात सुम्पिन चाहन्थे ।
एक दिन एउटा मान्छेको प्रस्ताव आयो । उनी सरकारी क्याम्पसमा पढाउँथे । उनको एउटी सात वर्षकी छोरी थिइन् । क्यान्सर लागेर उनकी स्वास्नी बितेकी थिइन् । उनी मसँग बिहे गर्न चाहन्थे । उनको प्रस्ताव मेरो बाआमाले स्वीकारे । तीन महिनापछि मेरो दोस्रो बिहे उनीसँग धुमधामसाथ भयो । म उनीसँग धेरै खुसी छु । एक वर्षपछि मैले छोरो पाएँ ।