Logo

उपचारले सजिलै निको हुन्छ क्षयरोग



काठमाडौं, चैत १५ । भक्तपुर सूर्यविनायकमा बस्ने ओखलढुङ्गाका निर्मल गौतम (नाम परिवर्तन)लाई केही महिनाअघि क्षयरोग लाग्यो । उनी मात्र होइन, उनकी श्रीमतीलाई पनि क्षयरोग देखियो । सुरुमा उनलाई खोकी लागेको थियो । खोकी लामो समयसम्म निको नभएपछि छोरा–बुहारीलाई भनेर काठमाडौँ आए । काठमाडौँ आएपछि मात्र थाहा भयो कि उनीहरुलाई क्षयरोग लागिसकेको रहेछ ।

अहिले उनीहरु क्षयरोगको औषधि सेवन गरिरहेका छन् । निर्मल र उनकी श्रीमती गोमादेवीलाई क्षयरोग भएको कुरा उनका परिवारमा भन्दा अन्य कसैलाई पनि थाहा छैन । उनले मलाई क्षयरोग लाग्यो भनेर परिवारका सदस्यबाहेक अरूलाई भन्न समेत सकेका छैनन्।

क्षयरोग लागेको भनेर गाउँ कसरी जानु, फेरि गाउँका मानिसले क्षयरोग लिएर आयो भन्ने सोच्लान् । त्यसैले उनी अहिले क्षयरोगलाई कसरी निको गर्ने भनेर स्वास्थ्यकर्मीको सल्लाहमा निरन्तर औषधि सेवन गरिरहेका छन् । उनीहरु त प्रतिनिधि पात्र मात्र हुन। हाम्रो समाजमा धेरै क्षयरोगी लुकेर बस्न बाध्य छन् ।

नेपालमा वार्षिक तीन हजार मिर्गौला रोगी अनुमानित रूपमा थपिने गरेका छन् । मिर्गौला रोगी थपिन्छन् भन्ने एउटा अनुमान मात्र हो तर कसलाई मिर्गौला रोग लाग्यो, समाजलाई प्रस्ट थाहा हुन्छ । कसलाई क्यान्सर या मुटुरोग लाग्यो समाजलाई थाहा हुन्छ तर सरकारी आँकडाअनुसार वार्षिक हजारौँ नयाँ क्षयरोगी भेटिने गर्छन् । यति धेरै सङ्ख्यामा क्षयरोगी थपिँदा समेत क्षयरोगी चिन्न गाह्रो हुन्छ । समाजको डरले उसले रोग लुकाएर राखेको हुन्छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचनले अझै पनि समाजले क्षयरोगीलाई हेर्ने दृष्टिकोण पुरानै रहेको बताए । समाजमा तिरस्कृत हुने डरले क्षयरोगी खुल्न नसकेको जानकारी दिँदै रोगीलाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उहाँ बताउन्छन् । नेपालमा प्रत्येक वर्ष करिब ६९ हजार जना नयाँ क्षयरोगी थपिने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ ।

हाल देशमा नयाँ तथा पुराना गरी करिब एक लाख १७ हजार क्षयरोगी रहेको अनुमान गरिएको र करिब ४१ हजार क्षयरोगी पत्ता लाग्न नसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot