Logo

माल्दिभ्सको राजधानी मालेमा कर्फु अन्त्य



१९ चैत: माल्दिभ्सको राजधानी मालेमा लगाइएको कर्फु हटाइएको छ ।

माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकायले राजधानी सहरमा लगाइएको कर्फु अन्त्य गरिएको बिहीबार जानकारी दिएको हो ।

सार्वजनिक स्वास्थ्य महानिर्देशक मैमुना अबु बाकरले बिहीबार प्रकाशित गरेको सूचनामा राति ११ बजेदेखि बिहान ४ः३० बजेसम्मका लागि लागू गरिएको कर्फु हटाइएको उल्लेख छ ।

उनका अनुसार राजधानी मालेमा गत मार्च ४ देखि लगातार कर्फु लगाइएको थियो । कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले कर्फु लगाइएको पनि उनले सूचनामा उल्लेख गरेका छन् ।

कर्फु लगाएसँगै बन्द भएका प्राथमिक विद्यालय, डे केयर, जिम, विश्वविद्यालय, चलचित्र घरलगायत पनि कफ्र्यु हटाइएसँगै पूनः सुचारु हुने भएका छन् ।

सुचारु गर्न लागिएका सेवा सञ्चालन गर्न कोरोनाभाइरसबाट बच्नका लागि अपनाउनु पर्ने आधारभूत सतर्कता र मापदण्ड भने पालना गर्नु पर्ने व्यवस्था गरिएको छ । त्यसका लागि सरकारले स्वास्थ्य सतर्कता निर्देशिकासमेत जारी गरेको छ ।

माल्दिभ्समा अहिलेसम्म २४ हजारभन्दा बढी मानिसमा कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्