Logo

तालिम समीक्षा तथा तालिम क्यालेण्डर निर्माण गोष्ठी सम्पन्न



काठमाडौं, २० चैत्र । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा तालिम समीक्षा तथा तालिम क्यालेण्डर निर्माण गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सञ्चालित नेपाल प्रहरीको आ.व. २०७७ र ०७८ मा संचालन भएका तालिमहरुको समीक्षा तथा आ.व. २०७८ र ०७९ को तालिम योजना सहितको तालिम क्यालेण्डर निर्माण सम्बन्धी गोष्ठी समापन भएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उक्त गोष्ठीको समापन गरेका हुन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यस गोष्ठीका निष्कर्षले प्रशिक्षण प्रदायक केन्द्रहरुमा लिइएको निर्धारित लक्ष्य प्राप्तीका लागि मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे । प्रशिक्षण केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरु रोल मोडलको रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै निर्धारित लक्ष्य प्राप्तीप्रति अत्यन्तै गम्भीरतापूर्वक विश्लेषण गर्दै प्राप्त जिम्मेवारीलाई निष्पक्ष र पारदर्शी रुपमा निर्वाह गर्न उनले निर्देशन दिए ।

तालिमको परिमाण भन्दा पनि त्यसको गुणस्तरमा ध्यान केन्द्रीत हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तालिम प्रदायक निकायहरुबाट प्रशिक्षणमा सिकाइएका ज्ञान, सिप तथा कौशललाई कार्य सम्पादन गर्ने क्रममा प्रहरी कर्मचारीले आफ्नो कार्यक्षेत्रमा कसरी प्रदर्शन गर्‍यो भन्ने विश्लेषण हुनुपर्ने उल्लेख गरे।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले धन्यवाद ज्ञापन गरेको उक्त समारोहमा सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. देव बहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साथै कार्यक्रममा प्रतिष्ठानका तालिम शाखा प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले गोष्ठीको सार सङ्क्षेप तथा घुम्ती प्रशिक्षण योजना सहितको प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही लगायत कार्य एवम् अपराध अनुसन्धान विभाग तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधिले आ(आफ्नो विभाग सम्बन्धि तालिम आवश्यकता एवं आवश्यक स्रोत व्यवस्थापन सम्बन्धी टिप्पणी तथा सुझावहरु प्रस्तुत गरेका थिए ।
उक्त गोष्ठीमा सांगठनिक आवश्यकता, प्रदेशको जनशक्ति, बजेट, प्रशिक्षण संस्थाको विशिष्टिकृत उद्देश्य, प्रशिक्षण निकायमा उपलब्ध श्रोतसाधन, तालिमको औचित्यता, तालिम प्रहरी नियमावली बमोजिम समूहकृत छ छैन, पाठ्यक्रम लगायतका विषयमा प्रस्तुतीकरण तथा छलफल गरिएको थियो ।

मंगलबारदेखि सुरु भएको उक्त गोष्ठीमा प्रहरी प्रधान कार्यालयस्थित सबै विभाग, निर्देशनालयहरू, ब्यूरोहरू तथा तालिम प्रदायक शाखाका प्रतिनिधि, अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन, प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहा नवलपरासी, सबै प्रदेश प्रहरी तालिम केन्द्रहरू र महानगरीय प्रहरी शिक्षालय महाराजगंजका प्रमुख तथा तालिम शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

गोष्ठी समापन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot