Logo

पौडेलको प्रस्तावमा ठाकुरको जवाफः अहिले ओलीजीसँगै संवाद चलिरहेछ



काठमाडौं, २२ चैत्र । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज विहान जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको हात्तिवनस्थित निवासमा पुगे । ठाकुरको मनशाय बुझ्न र नयाँ सरकारका लागि समिकरण बनाउन पहलका लागि पौडेल त्यहाँ पुगेका थिए ।

काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरिसकेको र सत्ता समिकरणका लागि जसपाले उठाएको मुद्दा सम्बोधन गर्नेबारे पौडेलले कुराकानी गरेका थिए । मधेशको माग ओलीले सम्बोधन नगर्ने र त्यसबारे काँग्रेस सभापति शेरबहादुर देउवासँग बसेर कुरा गर्न पौडेलले सुझाव दिएका थिए । विश्वस्त स्रोतका अनुसार पौडेलले आफू पनि बसेर देउवासँग त्यसबारे छलफल गर्ने प्रस्ताव राखेका थिए ।

जवाफमा ठाकुरले आफूहरुको मुद्दाबारे ओलीसँगै कुराकानी भइरहेको जवाफ दिएका थिए । काँग्रेस र माओवादी केन्द्रसहितको जसपाको समिकरण बनाउनेबारे ठाकुरको सकारात्मक जवाफ नआएको बुझिएको छ ।

जसपा अध्यक्ष ठाकुरले ओलीसँगै निकटता बढाएको संकेतहरु भेटमा समेत गरेका थिए । उनको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘अहिले ओलीजीसँगै संवाद चलिरहेछ ।’ ठाकुरले आफूहरु मुद्दामा केन्द्रित भएको स्पष्ट पारेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot