Logo

प्रहरी अस्पताल महाराजगंजको ३७औं वार्षिकोत्सव सम्पन्न



काठमाडौं, २६ चैत्र । नेपाल प्रहरी अस्पताल महाराजगंजको ३७औं वार्षिकोत्सव सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३७औं वार्षिकोत्सव समारोह सम्पन्न भएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको बिलिङ तथा रिपोर्टको अनलाईन सुविधा लिन सकिने पेटेन्ट पोर्टलको उद्‍घाटन गरे । साथै उाले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको २ करोड रुपैयाँको थैली अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण समेत गरे।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको सेवा प्रवाहमा अविश्मरणीय योगदान गर्दै २५ वर्ष अनवरत सेवा गर्नुहुने प्रहरी कर्मचारीहरुलाई कदरपत्र प्रदान गरे । साथै भिजिटिङ कन्सल्टेन्टहरु प्रा.डा. रोहित कुमार पोखरेल र डा. रबिन बहादुर बस्नेत तथा अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउने महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज र संघ संस्थालाई प्रशंसापत्र एवम् कार्य सम्पादन र सेवा प्रवाहको आधारमा उत्कृष्ट बिभाग अन्तर्गत प्याथोलोजी विभागलाई शिल्ड तथा प्रशंसापत्र समेत उनले प्रदान गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्व महानिरीक्षकहरुले निर्वाह गरेको योगदानको प्रशंसा गरे । साथै कोभिड(१९ बाट संक्रमण भएका प्रहरी कर्मचारीहरुलाई सामान्य जिवनमा फर्काउनका निम्ति नेपाल प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय भएको बताउँदै आगामी दिनमा समेत थप सतकर्ता र लगनशील भएर काम गर्न नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीको स्वभाव भनेकै नागरिक प्रहरी भएको बताउँदै उनले भने, ‘नागरिक प्रहरीको मर्म भनेकै नागरिकको बिचमा गएर गर्ने सेवा हो ।’ साथै नेपाल प्रहरी अस्पतालबाट शुभारम्भ भएका नयाँ सेवाहरु कार्यान्यवयनमा सदैव निरन्तर र दिर्घकालीन हुनुपर्ने उल्लेख गर्दै नेपाल प्रहरी अस्पतालको सहयोगका लागि प्रहरी प्रधान कार्यालय प्रतिवद्ध रहेको समेत उनले बताए ।

समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु अच्युत कृष्ण खरेल, रमेश चन्द ठकुरी, कुवेर सिंह राना, उपेन्द्र कान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवालीले अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार एवं प्रशंसापत्र वितरण गरे ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष सिर्जना थापाले अस्पतालमा रहेका बेडहरुको लागि ३० थान कम्बल अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गरे । साथै संघकी अध्यक्ष तथा संघका पदाधिकारीहरुले अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गरेका थिए । उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले १ थान पीओएस मेसिन र ४ थान क्यूआर मेसिन अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गरे।



प्रतिक्रिया दिनुहोस्

Screenshot