Logo

कमल थापाको दाबी : कांग्रेस र कम्युनिष्ट असफल सावित भए



काठमाडौं, १ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्ट असफल साबित भएको टिप्पणी गरेका छन् । उनले सत्ता, स्वार्थ र भागबन्डाको लुछाचुडीका कारण मुलुक अस्थिरताको दलदलमा फसेको पनि दाबी गरेका छन् ।

राप्रपा काठमाडौं महानगर समितीद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले संवैधानिक अंगका प्रमुखहरु माथी नै गम्भीर आरोप–प्रत्यारोप हुनु ,एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य ब्यबस्था माथि प्रश्नचिन्ह खडा भएको बताए।

गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको बाटोबाट मुलुकलाई समृद्धिको बाटोतर्फ लैजान नसकिने भन्दै त्रुटिपूर्ण मार्गचित्र परिवर्तन गर्नको निमित्त गम्भीरतापूर्वक चिन्तन मनन हुनुपर्नेमा थापाको जोड थियो। अहिले मुलुकको ठुलो समस्या भनेको भ्रष्टाचार , बेरोजगारी ,धर्मपरिवर्तन, कुशासन र सर्बसत्ताबाद भएको भन्दै थापाले यसको निमित्त लड्न सक्ने बैकल्पिक शक्ति मुलुकले खोजिरहेको समेत बताए।

बिदेशीबाट पालित पोसित भनी आरोप लगाउने, अनि त्यही व्यक्तिको सरकारलाई समर्थन गरिरहने उदेकलाग्दो राजनीति अहिले मुलुकमा भएको भन्दै थापाले गणतन्त्रका सम्वाहक शक्तिले नै गणतन्त्रलाई गाईजात्रे ब्यबस्थामा रुपान्तरण गरेको बताए । राप्रपालाई मुकुक र जनताले खोजेको बैकल्पिक शक्ति बनाउनको निमित्त महाधिवेशन केन्द्रित भई संगठन निर्माणमा होमिनुपर्ने आबश्यकता रहेको समेत थापाले औल्याए।

कार्यक्रममा राप्रपा नेताहरु बिक्रम थापा, वरिष्ठ अधिबक्ता बिष्णु भट्टराई, ईन्द्र चित्रकार, तारा लुईटेल, डा. जयन्तनाथ खनाल, राजाराम बर्तौला, नबराज सिम्खडा लगायतको उपस्थिति रहेको थियो भने महानगर अध्यक्ष केदार धमलाले स्वागत गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot