Logo

जमुनाह नाकाबाट प्रवेश गर्ने २६ जनामा सङ्क्रमण



नेपालगञ्ज, ५ बैशाख । भारतबाट नेपाल फर्किने शङ्कास्पद बिरामीलाई नेपालगञ्जस्थित जमुनाह नाकामा कोरोना परीक्षण गरेर मात्र घर पठाउने व्यवस्था गरिएको छ । भारतबाट घर फर्किने सर्वसाधारणको स्वास्थ्य जाँच गरी शङ्कास्पद बिरामीको सीमा नाकामै स्थापना गरिएको स्वास्थ्य कक्षमा कोरोना परीक्षण गरेर मात्रै पठाइने गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाप्रमुख चन्दले जानकारी दिए । उनका अनुसार जमुनाह नाकामा एन्टी जिन प्रविधिबाट स्वाब लिएको १५ मिनेटमा कोरोनाको रिपोर्ट निकाल्ने गरिएको छ ।

भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको स्वाब परीक्षण गर्दा हालसम्म २६ जनामा कोरोना सङ्क्रमण देखिएको ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए । जमुनाह नाकामा भारतबाट आउने नेपालीलाई गत चैत ११ गतेदेखि कोरोना जाँच शुरु गरिएको हो । आजसम्म २२३ जनामा परीक्षण गर्दा २६ जनामा सङ्क्रमण देखिएको छ । आज मात्रै बिहान १०ः०० बजेसम्म १० जनामा परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको ज्ञवालीले बताए ।

उनका अनुसार भारतबाट आएका नेपालीलाई जमुनाह नाकामा कोरोनासँगसँगै मलेरियासमेत परीक्षण गर्ने गरिएको छ । भारतको गुजरातबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण देखिने गरेको छ । भारतमा तीव्र रुपमा सङ्क्रमण बढेकाले रुपैडिहामा किनमेलका लागि जानमा रोक लगाइनाका साथै विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको प्रजिअ शिवराम गेलालले जानकारी दिए ।

उहाँका अनुसार सीमा नाकामा कडाइसँगै अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, त्यहाँबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, नेपालगञ्ज बजार क्षेत्रमा समेत मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्र बाँकेको बैठकले आग्रह गरेको छ । कोरोना सङ्क्रमण दर अस्वाभाविक रुपमा बढे पनि स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्ताका कारण विगतमा जस्तै फेरि बाँके कोरोना सङ्क्रमणको केन्द्र विन्दु बन्ने डर छ । रासस



प्रतिक्रिया दिनुहोस्