Logo

हात धुने बानी घट्यो



काठमाडौं, ९ बैशाख । सर्वसाधारणमा हातधुने बानीसमेत घट्टै आएको छ । गत वर्ष यो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमणले गति लिन थाल्दा ठाउँठाउँमा हात धुनका लागि ट्याङ्कीको व्यवस्था गरिएको थियो भने त्यसको प्रचारप्रसारलाई तीव्रता दिइएको थियो । प्रहरी र स्थानीय तहले माइकिङ नै गरेर सावधानी हुन सार्वजनिक आह्वान गरेको थियो । अहिले गत वर्ष राखिएका ती कतिपय ट्याङ्की निकालिएका छन् भने कतिपय ठाउँमा भएका ट्याङ्की न्यून प्रयोग भइरहेको छ । काठमाडौँको मैतीदेवीमा राखिएको ट्याङ्की हटाइएको छ । अन्य स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गर्ने क्रम पनि धेरै घटेको छ ।

अहिले मुलुकभर सङ्क्रमणदर दैनिकरूपमा बढ्दो छ । मन्त्रालयका अनुसार बुधबार सङ्क्रमण बढेर दुई हजार ३५१ पुगेको थियो । त्यसको अघिल्लो दिन मङ्गलबार एक हजार ७३६ सङ्क्रमित थपिएका थिए । सोमबार वैशाख ६ मा एक हजार २८१ र ५ गते एक हजार ९६ मा सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमणको दर क्रमशः उकालो लाग्दै जाँदा उपत्यकामा गति बढ्दो छ । बुधबारको सङ्क्रमितमध्ये झण्डै आधा काठमाडौँका रहेकाले अबको सङ्क्रमण उपत्यकामा बढ्ने देखिएको छ । उपत्यकामा सोहीअनुसारको तयारी भने हुनसकेको छैन । स्थानीय प्रशासनले विशेष सूचना जारी गरी सतर्कता अपनाउन भने पनि त्यो कार्यान्वयन हुनसकेको देखिँदैन ।रासस



प्रतिक्रिया दिनुहोस्